गलकोट:-बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरको दिगो व्यवस्थापनका लागि ‘कुकुर होस्टेल’ सञ्चालनमा ल्याएको छ। बजार क्षेत्रमा छाडा कुकुरको संख्या बढ्दै गएपछि नगरपालिकाले आवासीय सुविधासहितको होस्टेल स्थापना गरी पहिलो चरणमा २० वटा बेवारिसे, बिरामी तथा अशक्त कुकुरको उद्धार गरेको हो।
नगरपालिका–३ सिम्लेमा रहेको पाँच रोपनी
सार्वजनिक जग्गामा निर्माण गरिएको होस्टेलमा एकैपटक ५० वटा कुकुर राख्न सकिने
क्षमता रहेको छ। होस्टेल निर्माणका लागि बागलुङ नगरपालिकाले ३५ लाख रुपैयाँ र
मुख्यमन्त्री कार्यालयले ६५ लाख रुपैयाँ गरी कुल एक करोड रुपैयाँ खर्च गरेका छन्।
नगरपालिका पशु शाखा प्रमुख मित्रप्रसाद
सापकोटाका अनुसार होस्टेलमा कुकुरका लागि सुरक्षित आवास, घुमफिर तथा खेल्ने खुला
चौर, नियमित खानपान र
हेरचाहको व्यवस्था गरिएको छ। कुकुरको रेखदेखका लागि कर्मचारीसमेत खटाइएको छ।
नगरपालिकाले दुई वर्षअघि नै नीति तथा
कार्यक्रममा सामुदायिक कुकुर व्यवस्थापनका लागि होस्टेल निर्माण गर्ने योजना
समावेश गरेको थियो। सोही योजनाअनुसार अहिले सञ्चालनमा ल्याइएको होस्टेलमा आगामी
दिनमा थप छाडा कुकुरलाई पनि व्यवस्थापन गरिने जनाइएको छ।
नगर प्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार
सामुदायिक कुकुरको बन्ध्याकरण अभियानलाई पनि निरन्तरता दिइनेछ। घरपालुवा कुकुर
बिरामी भएपछि वा पालनपोषण गर्न नसकेपछि सडकमा छाड्ने प्रवृत्तिका कारण बजार
क्षेत्रमा कुकुरले यात्रुलाई टोक्ने र दुर्घटनाको जोखिम बढेकाले होस्टेल निर्माण
गरिएको उनले बताए।
यसैबीच, नगरपालिकाले घरपालुवा कुकुरको दर्ता अनिवार्य गरेको छ।
दर्ता भएका कुकुरको पहिचान,
खोप तथा
औषधोपचारको व्यवस्था गरिनेछ भने दर्ता गरिएको कुकुर सडकमा भेटिएमा त्यसको
जिम्मेवारी सम्बन्धित धनीले नै लिनुपर्ने व्यवस्था गरिएको छ। कुकुर दर्ताका लागि
२०० रुपैयाँ शुल्क निर्धारण गरिएको नगरपालिकाले जनाएको छ।