इन्डो–नेपाल भलिबलमा पुलिस र आर्मी विजयी

काठमाण्डाै  इन्डो–नेपाल रनिङ शिल्ड भलिबलमा आज भएका खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।

बुटवलको रामनगर खेलमैदानमा आज भएको पहिलो खेलमा पुलिसले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले पहिलो सेट २५–१८, दोस्रो सेट २५–१९ र तेस्रो सेट २८–२६ ले जित्यो ।

यस्तै दोस्रो खेलमा आर्मीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ को सेटमा हरायो । आर्मीले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२१ चौथो सेट २५–१५ ले जित्यो । एपीएफले तेस्रो सेट २५–१९ ले जित्यो ।

योसँगै इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको सेमिफाइनल समीकरण पूरा भएको छ । पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता पुलिस र समूह ‘बी’ को उपविजेता भारतको गुजरात स्टेट भलिबल एसोसिएशन खेल्ने भएका छन् । यस्तै दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता आर्मी र समूह ‘ए’ को उपविजेता मणिमुकुन्द भलिबल क्लब खेल्ने भएका छन् ।

सेमिफाइनल खेल भोलि हुनेछ । यस्तै फाइनल खेल पर्सि बुधवार हुनेछ ।

  • २२ पुस २०८१, सोमबार

प्रतिक्रिया