बंगलादेशमाथि यूएईको ऐतिहासिक टी-२०आई शृंखला जित

काठमाडौं । यूएईले बंगलादेशविरुद्ध ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय शृंखला जित हासिल गरेको छ। यूएईमा भएको तीन खेलको शृंखला २–१ ले जित्दै यूएईले बंगलादेशमाथि पहिलोपटक शृंखला जित निकालेको हो ।

त्यस्तै समग्रमा दोस्रोपटक कुनै टेस्ट राष्ट्रविरुद्ध टी–२० शृंखला जित्ने इतिहास रच्यो। यसअघि यूएईले सन् २०२१ मा आयरल्यान्डलाई पनि हराएको थियो।

बुधबार सम्पन्न शृंखलाको अन्तिम खेलमा बंगलादेशले दिएको १६३ रनको लक्ष्य यूएईले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। अलिशान शराफुले ४७ बलमा पाँच चौका र तीन छक्का सहित अविजित ६८ रन बनाएर टीमलाई जित दिलाए।

उनले आसिफ खानसँग चौथो विकेटका लागि ८७ रनको अविजित साझेदारी गरे जसमा आसिफले २६ बलमा पाँच छक्का सहित नटआउट ४१ रन जोडे।

अघिल्लो दुई खेलमा अर्धशतक बनाएका कप्तान मूहम्मद वासीम यस खेलमा भने ९ रनमा आउट भए । मोहम्मद जोहैबले २९ रन बनाए । बंगलादेशका शोरिफुल इस्लाम, तन्जिम हसन शाकिब र रिशाद होसेनले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनाएको थियो। एक समय ८४ रनमा ८ विकेट गुमाइसकेको बंगलादेशलाई जाकिर अलीले ४१ र तन्जिद हसनले ४० रन बनाउँदै सम्हाले।

यूएईका बायाँ हाते स्पिनर हैदर अलीले ४ ओभरमा केवल ७ रन खर्चिएर ३ विकेट लिँदै बंगलादेशलाई निरन्तर दबाबमा राखेका थिए । मतिउल्लाह खान र सघिर खानले २-२ तथा अकिफ राजा र ध्रुव पराशरले १-१ विकेट लिए ।

शृंखलाको पहिलो खेलमा बंगलादेशले २७ रनको जित निकाल्दा दोस्रो खेलमा यूएई २ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया