काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाने भएका छन्। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी भारत जान लागेका हुन्।
रास्वपाले सार्वजनिक गरेको कार्यतालिकाअनुसार लामिछानेको भारत भ्रमण असार १८ गतेदेखि २२ गतेसम्म रहनेछ। भ्रमणका क्रममा नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाटको कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ।
लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहोरा तथा प्रदीप आचार्य पनि भारत जानेछन्।
भ्रमणका क्रममा लामिछानेले भारतीय जनता पार्टीका विभिन्न नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। साथै, भारतमा बसोबास गर्ने नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि भेटघाट गर्ने कार्यतालिका रहेको छ।
रास्वपाका अनुसार भ्रमणका क्रममा लामिछानेले व्यक्तिगत रूपमा अयोध्या दर्शन गर्ने कार्यक्रम समेत तय भएको छ।
यसैबीच, भारतीय जनता पार्टीले आइतबार विज्ञप्ति जारी गर्दै लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलको भारत भ्रमणबारे जानकारी दिएको थियो। विज्ञप्तिअनुसार प्रतिनिधिमण्डलले भाजपा अध्यक्षसहित पार्टीका अन्य वरिष्ठ नेताहरूसँग पनि भेटवार्ता गर्नेछ।
रवि लामिछानेको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध, राजनीतिक संवाद तथा द्विपक्षीय सहकार्यका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ। रास्वपाका प्रवक्ता मनिष झाले सभापति लामिछानेले भारतमा विभिन्न राजनीतिक तथा कूटनीतिक व्यक्तित्वहरूसँग भेटघाट गर्ने जानकारी दिएका छन्।
लामिछानेको भ्रमणलाई लिएर नेपालको राजनीतिक वृत्तमा चासो र चर्चा समेत बढेको छ।