कार्यस्थलमा कुटपिट र धम्कीको आरोपपछि खाँडादेवीका २२ प्राविधिक कर्मचारीको सामूहिक राजीनामा

bmn.news

रामेछाप:- रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत २२ जना इन्जिनियर तथा असिस्टेन्ट सब–इन्जिनियरले कार्यस्थलमा कुटपिट, दुर्व्यवहार र निरन्तर धम्कीको सामना गर्नुपरेको भन्दै सामूहिक रूपमा राजीनामा दिएका छन्।

प्राविधिक कर्मचारीहरूको राजीनामासँगै आर्थिक वर्षको अन्त्यतिर गाउँपालिकाको पूर्वाधार शाखामार्फत सञ्चालन भइरहेका नापजाँच, अनुगमन, योजना कार्यान्वयन तथा भुक्तानीलगायतका विकास निर्माणसम्बन्धी काम प्रभावित भएका छन्।

गाउँपालिकाले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो समय उपभोक्ता समितिसँग सम्बन्धित व्यक्तिहरू तथा अन्य पक्षबाट प्राविधिक कर्मचारीमाथि अनावश्यक दबाब, धाकधम्की र असुरक्षाको वातावरण सिर्जना गर्ने गतिविधि बढ्दै गएको छ। विज्ञप्तिमा २२ जना प्राविधिक कर्मचारीको हस्ताक्षर रहेको छ।

विज्ञप्तिअनुसार असार ९ गते सम्पन्न २०औँ गाउँसभाको अधिवेशनका क्रममा गाउँपालिका कार्यालय परिसरमै प्रमुख प्रशासकीय अधिकृतसहित प्राविधिक कर्मचारीमाथि दुर्व्यवहार तथा हातपातको प्रयास भएको थियो। त्यसको दुई दिनपछि, असार ११ गते, पूर्वाधार शाखाभित्रै प्राविधिक कर्मचारीलाई अपशब्द प्रयोग गर्दै गालीगलौज र हातपातको धम्की दिइएको उल्लेख गरिएको छ।

गाउँपालिकाले राष्ट्रसेवक कर्मचारीले सुरक्षित र भयमुक्त वातावरणमा काम गर्न पाउने संवैधानिक तथा कानुनी अधिकारमाथि आघात पुगेको जनाएको छ। कर्मचारीमाथि बढ्दो दबाब र भौतिक असुरक्षाका कारण विकास निर्माणका काम र सेवा प्रवाहमा गम्भीर असर परेको विज्ञप्तिमा उल्लेख छ।

घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाहीका लागि स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय भइरहेको गाउँपालिकाले जनाएको छ। साथै समस्या तत्काल समाधान नभए विकास आयोजना मात्र नभई समग्र सेवा प्रवाह नै प्रभावित हुने चेतावनी पनि गाउँपालिकाले दिएको छ।

 

प्रतिक्रिया