महोत्तरी;- महोत्तरीको बर्दिबास नगरपालिकाले बालविवाह न्यूनीकरणका लागि नयाँ प्रोत्साहन योजना ल्याएको छ। अब २० वर्ष उमेर पुगेपछि विवाह गर्ने नगर क्षेत्रका छोरीहरूले रु ५१ हजार नगद प्रोत्साहन प्राप्त गर्ने भएका छन्।
यो व्यवस्था नगरपालिकाको १८औँ नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम तथा बजेटमार्फत घोषणा गरिएको हो। नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीका अनुसार कानुनी उमेरमा विवाह गर्न प्रोत्साहन गर्दै बालविवाह नियन्त्रण गर्ने उद्देश्यले यस्तो योजना लागू गरिएको हो।
उनले यसले कानुनी सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। प्रस्तुत नीतिलाई समाजका विभिन्न तहबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको पनि उनले बताए।
यसअघि २०८० साल चैत ५ गते नगरपालिकाले मुसहर समुदायका लागि विशेष कार्यक्रम ल्याउँदै उमेर पुगेपछि विवाह गर्ने जोडीलाई रु ५० हजार दिने व्यवस्था गरेको थियो। तर हालसम्म एक जोडीले मात्र उक्त सुविधा लिएको तथ्यांक नगर कार्यपालिकाको कार्यालयमा रहेको छ।
नगरपालिकाभित्र मुसहर समुदाय अधिकांश वडामा बसोबास गर्दै आए पनि प्रोत्साहन कम उपयोग भएकोले अझै बालविवाहको समस्या कायम रहेको अनुमान गरिएको छ।
हाल झण्डै एक लाख जनसंख्या रहेको नगरपालिकाका १३ वटा वडालाई बालविवाहमुक्त घोषणा गरिसकिएको छ भने बर्दिबास–१२ मात्र घोषणा हुन बाँकी छ।
नगरपालिकाले आगामी आर्थिक वर्षदेखि लागू हुने नयाँ योजनाबाट सामाजिक व्यवहारमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरेको छ। साथै, मुसहर समुदायका हकमा भने अघिल्लै व्यवस्था अनुसार पुरुष र महिला दुवैलाई प्रोत्साहन रकम उपलब्ध गराइने नगरप्रमुख क्षेत्रीले स्पष्ट पारे।
बालविवाह बढी हुने समुदायमा लक्षित गर्दै ल्याइएका यस्ता कार्यक्रमहरूले सामाजिक सुधारमा टेवा पुग्ने महिला अधिकारकर्मीहरूको विश्वास छ।