रास्वपा बागमती प्रदेशको रोकिएको अधिवेशन जेठ ३० गते हुने

bmn.news

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको रोकिएको अधिवेशन आगामी जेठ ३० गते हुने भएको छ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगले बिहीबार सूचना जारी गर्दै जेठ २७ गते स्थगित भएको निर्वाचन प्रक्रिया जेठ ३० गते काठमाडौँको धुम्बाराहीस्थित पार्टी प्यालेसमा सञ्चालन गरिने जानकारी दिएको हो।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाता नामावली प्रमाणीकरण, समायोजन सूची व्यवस्थापन तथा प्राविधिक परीक्षणलगायत आवश्यक तयारी पूरा भइसकेको छ। सोही कारण बाँकी निर्वाचन प्रक्रिया अघि बढाउन लागिएको उनले बताए।

रास्वपाले यस पटक विद्युतीय मतदान प्रणालीमार्फत निर्वाचन गर्ने व्यवस्था मिलाएको जनाएको छ। मतदानमा सहभागी हुन प्रतिनिधिहरूले पार्टीले उपलब्ध गराएको आधिकारिक फोटोसहितको परिचयपत्र र लेभी बुझाएको प्रमाण अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।

बागमती प्रदेशको पहिलो अधिवेशन हेटौँडामा उद्घाटन गरिएको थियो। नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु हुनुअघि विवाद देखिएपछि निर्वाचन स्थगित गरिएको थियो।

प्रतिक्रिया