काठमाण्डाै । जय ट्रफी एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबसँगको खेलमा नेपाल पुलिस क्लबले दोस्रो पारीमा ९ विकेट गुमाएर १ सय ३२ रन बनाएको छ ।
दोस्रो दिनको खेल सकिँदा पुलिसले ९५ रनको अग्रता लिएको छ । दोस्रो पारीमा पुलिसका कुशल भुर्तेलले ४५, दिलिप नाथले ३४ रन बनाए । आर्मीका शाहब आलमले ५ र बसिर अहमदले ४ विकेट लिए ।
आजै आर्मी पहिलो पारीमा १ सय ७० रनमा अलआउट भएको थियो । आर्मीका भीम सार्कीले ५८, बसिर अहमदले ४० रन बनाए । पुलिसका सागर ढकालले ५, कुशल भुर्तेलले ३ विकेट लिए ।
यसअघि वीरगञ्जमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे पुलिसले पहिलो पारीमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको अवस्थामा पारी समाप्तिको घोषणा गरेको थियो । पहिलाे पारीमा पुलिसका कुशल भुर्तेलले ५१ रन बनाए । आर्मीका शाहब आलमले ७ विकेट लिए ।
प्रतियोगितामा आर्मी, पुलिससहित बाग्मती र मधेश प्रदेश गरी चार वटा टोली सहभागी थिए । पुलिस शीर्ष स्थानमा र आर्मी दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।