नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष: जसले एकै रातमा सिंगो राजवंशलाई समाप्त गर्यो

bmn.news

काठमाडौ; नेपालको इतिहासको सबैभन्दा दुःखद, रहस्यमय र विवादास्पद घटनामध्ये एक मानिने नारायणहिटी राजदरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ। साढे दुई दशक बितिसक्दा पनि यो घटनाका धेरै पक्षहरू अझै रहस्यकै गर्भमा छन्, जसले नेपाली समाजलाई आज पनि उत्तिकै झस्काउने गर्छ।

विसं २०५८ साल जेठ १९ गते शुक्रबार राति नारायणहिटी राजदरबारमा आयोजित पारिवारिक भोज केही क्षणमै रक्तरञ्जित त्रासदीमा परिणत भएको थियो। उक्त घटनामा तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, राजा वीरेन्द्रका भाइ धीरेन्द्र शाहसहित राजपरिवारका अन्य सदस्यहरूको ज्यान गएको थियो। एकै रातमा नेपालको राजसंस्थाले आफ्नो अधिकांश वंश गुमाएको त्यो घटना आज पनि इतिहासको सबैभन्दा पीडादायी अध्यायका रूपमा स्मरण गरिन्छ।

घटनापछि गम्भीर घाइते अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो। तर उनी उपचारकै क्रममा रहेकाले अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायब राजा तोकिएको थियो। तीन दिनपछि अर्थात् जेठ २२ गते दीपेन्द्रको पनि निधन भएपछि ज्ञानेन्द्र शाह नेपालको राजा बने।

घटनाको सत्यतथ्य पत्ता लगाउन तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट सम्मिलित दुई सदस्यीय छानबिन समिति गठन गरिएको थियो। समितिले सार्वजनिक गरेको प्रतिवेदनमा युवराज दीपेन्द्रले नै राजपरिवारका सदस्यहरूमाथि गोली प्रहार गरी अन्ततः आफूलाई पनि गोली हानेको निष्कर्ष निकालिएको थियो।

तर प्रतिवेदन सार्वजनिक भएको २५ वर्ष बितिसक्दा पनि त्यो निष्कर्षलाई लिएर विवाद र शंका कायमै छन्। आम नेपाली नागरिकको ठूलो हिस्सा अझै पनि घटनाका सबै तथ्य बाहिर नआएको विश्वास गर्छ। कडा सुरक्षा घेराभित्र रहेको दरबारभित्र भएको यस्तो भयावह घटनाको सम्पूर्ण सत्य अझै सार्वजनिक नभएको धारणा समाजमा बलियो रूपमा विद्यमान छ।

नारायणहिटीको त्यो रक्तपातपूर्ण रात केवल राजपरिवारको दुःखद अन्त्य मात्र थिएन, त्यसले नेपालको राजनीतिक यात्रामा पनि गहिरो मोड ल्यायो। घटनाको सात वर्षपछि अर्थात् २०६५ जेठ १५ गते संविधानसभाले राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो। त्यससँगै ज्ञानेन्द्र शाह नेपालको अन्तिम राजा बने।

वर्तमान समयमा तिनै पूर्वराजा ज्ञानेन्द्र वा उनका सन्तानलाई राजगद्दीमा फर्काउनुपर्ने माग गर्दै राजावादीहरूले सडक प्रदर्शनहरू गर्दै आएका छन्।

यद्यपि, राजसंस्था समाप्त भइसके पनि नारायणहिटी दरबार हत्याकाण्डसँग जोडिएका प्रश्नहरू अझै जीवित छन्। आज पनि कतिपय समूहहरूले राजसंस्थाको पुनर्स्थापनाको माग गरिरहेका छन् भने जेठ १९ को त्यो कहालीलाग्दो रात नेपाली स्मृतिमा कहिल्यै नमेटिने घाउ बनेर बसेको छ।

२५ वर्षपछि पनि नारायणहिटी दरबार हत्याकाण्ड केवल एउटा ऐतिहासिक घटना मात्र होइन, उत्तर खोजिरहेकै एउटा राष्ट्रिय प्रश्न बनेर उभिएको छ।



प्रतिक्रिया