सीमा विवादबारे प्रधानमन्त्रीको भनाइले राष्ट्रिय सभा ठप्प; माफी नमागेसम्म सदन चल्न नदिने विपक्षीको अडान

bmn.news

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज दोस्रो दिन पनि कार्यसूचीमा प्रवेश गर्न सकेन । प्रधानमन्त्री बालेनले सीमा विवादबारे बोलेको अभिव्यक्तिमा माफी नमागेसम्म सदन चल्न नदिने दलहरूको अडान छ । यही अडान राखेर दलहरूले सोमबारको बैठकमा अवरोध गरेका थिए ।

मंगलबार पनि यही विषय राखेर बैठकलाई कार्यसूचीमा प्रवेश गर्न नदिएका हुन् । कार्यसूचीमा प्रवेश गर्नु अगाडि आकस्मिक समयमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले प्रतिनिधिसभामा दिएको सीमा बारेको अभिव्यक्ति राष्ट्रघाती रहेको बताए ।

प्रधानमन्त्रीले आफैँ बोलेको हो वा कसैको सल्लाहमा बोलेको त्यो विषय पनि शंकास्पद रहेको बताए ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।

त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।’

यस्तो अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले लगातार दोस्रो दिन पनि राष्ट्रिय सभालाई कार्यसूचीमा प्रवेश गर्न नदिएका हुन् ।

विपक्षी दलहरूको अवरोधले संसद्को कार्यसूची भने प्रभावित भएको छ ।

आजको बैठकमा सम्माननीय अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा जानकारी गराउने विषय थियो ।

साथै राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल  गर्ने कार्यसूची छ ।

जस अन्तर्गत अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३र०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

आर्थिक वर्ष २०८३र०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने विषय पनि थियो ।

जस अन्तर्गत अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

विपक्षी दलहरूको लगातारको अवरोधपछि सभाध्यक्ष नारायण दाहालले बैठक स्थगित गरे र अर्को बैठक भोलिका लागि राखेका छन् ।

प्रतिक्रिया