रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्यको शपथ भोलि, लगत्तै ५१ जना मनोनीतको काम अघि बढ्ने

bmn.news

काठमाडौं:- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित ९९ जना केन्द्रीय सदस्यले बुधबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

पार्टीको निर्वाचन आयोगका अनुसार शपथ ग्रहण कार्यक्रम बुधबार दिउँसो पार्टीको केन्द्रीय कार्यालयमा हुनेछ। नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई पार्टी सभापति रवि लामिछानेले पद तथा गोपनीयताको शपथ गराउनेछन्।

यसअघि सभापति रवि लामिछाने, उपसभापति सोविता गौतम, महामन्त्री विपीन आचार्य तथा सहमहामन्त्रीहरू हरि ढकाल, असिम शाह र निशा डाँगीले शपथ लिइसकेका छन्।

शपथ ग्रहणपछि नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बस्ने कार्यक्रम छ। बैठकमा सभापति लामिछानेले विधानअनुसार मनोनीत गर्नुपर्ने केन्द्रीय सदस्यहरूको प्रस्ताव पेश गर्न सक्नेछन्।

रास्वपाको विधानअनुसार सभापतिले ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्न सक्ने व्यवस्था छ। केन्द्रीय सदस्यहरूको मनोनयनपछि उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, प्रवक्ता तथा तीन सहप्रवक्तासहितका पदाधिकारी पनि मनोनीत गरिनेछ।

रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो। महाधिवेशनबाट रवि लामिछाने सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएका थिए र उनले भरतपुरमै पद तथा गोपनीयताको शपथ लिएका थिए।

प्रतिक्रिया