काठमाण्डौ । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको आजको बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आउँदो आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेश गर्नुहुने कार्यसूची छ । तर संसद्को अवरोध हटाउन सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच हिजो बेलुका भएको छलफल निष्कर्षविहीन भयो ।
प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सिंहदरबारमा छलफल भए पनि आ–आफ्नो अडान यथावत् रहेकाले सहमति हुन नसकेको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलबाट संसद् अवरोध हुँदै आएको छ । गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने र त्यसका लागि राजीनामा दिनुपर्ने माग राखेर विपक्षी दलहरूले जेठ १३ र १४ को बैठक अवरोध गरेका थिए ।
जेठ १५ मा बजेट ल्याउन संसद् बैठकमा अवरोध नगरेका उनीहरुले आजको बैठकमा अवरोधलाई निरन्तरता दिने जनाएका छन् । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा एकमा बस्नेछ ।