संसदको गरिमा जोगाउन सांसदको भाषा, व्यवहार र पोशाक मर्यादित हुनुपर्ने कानूनमन्त्री सोविता गौतम भनाइ

bmn.news

काठमाडौं:- कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसदको गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोशाकमा विशेष ध्यान दिनुपर्ने बताएकी छन्। मन्त्री गौतमले संसदको गुणस्तर खस्किनुको कारणबारे सांसदहरूले स्वयं मनन गर्नुपर्ने उल्लेख गर्दै संसदमा प्रयोग हुने भाषा, उच्चारण गरिने शब्द, व्यवहार र पोशाकदेखि हरेक पक्षमा मर्यादा कायम गर्न आवश्यक रहेको बताइन्।

६८औँ संसद दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले संसदलाई जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न सांसदहरू स्वयं मर्यादित हुनुपर्नेमा जोड दिइन्।

मन्त्री गौतमले पछिल्लो समय संसदको गुणस्तर खस्किँदै गएको भन्ने जनगुनासोप्रति सांसदहरूले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याइन्। उनका अनुसार संसदीय अभ्यासलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्न आवश्यक छ।

उनले प्रक्रियागत तथा प्राविधिक विषयहरू कार्यव्यवस्था परामर्श समिति वा अन्य अनौपचारिक छलफलमार्फत टुंग्याउन सकिने उल्लेख गर्दै संसदको बहुमूल्य समय जनसरोकारका विषयमा केन्द्रित हुनुपर्ने बताइन्।

शिक्षा, स्वास्थ्य, रोजगारी, सेवा प्रवाहलगायत जनताका दैनिक समस्याको समाधानका विषयमा सरकारलाई जवाफदेही बनाउने गरी संसदमा व्यापक बहस हुनुपर्ने उनको भनाइ थियो।

उनले संसद जनताको सर्वोच्च थलो भएकाले यसको गरिमा जोगाउने दायित्व सांसदहरूको आचरणबाट प्रतिबिम्बित हुनुपर्ने बताउँदै संसदको मर्यादा कायम राख्न आफू व्यक्तिगत रूपमा शतप्रतिशत प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गरिन्।

प्रतिक्रिया