कोशीलाई हराउँदै आर्मी पीएम कप क्रिकेटको 'सुपर–फोर' मा

काठमाण्डाै  कोशी प्रदेशलाई ९ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको ‘सुपर–फोर’ मा पुगेको छ । कोशीले दिएको ३७ रनको लक्ष्य आर्मीले ६ ओभर २ बलमा १ विकेट गुमाएर भेटायो । आर्मीकी सम्झना खड्काले नटआउट ३२ रन बनाइन् ।

यसअघि धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित ७ ओभरमा ५ विकेट गुमाएर ३६ रन बनायो । कोशीकी स्मृति कटुवालले सबैभन्दा धेरै १४ रन बनाइन् । आर्मीकी मनिषा चौधरीले ३ र सुष्मिता भुसालले २ विकेट लिए । खराब मौसमका कारण खेल ७ ओभरमा झारिएको थियो ।

आर्मी ३ खेलमा ४ अङ्कसहित समूह ‘बी’ को शीर्ष स्थानमा छ । कोशी ३ खेलमा ४ अङ्कसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ ।

यस्तै समूह ‘बी’ को अर्काे खेलमा अहिले तेस्रो स्थानको बाग्मती प्रदेश र पुछारको मधेश प्रदेश खेलिरहेका छन् । यो खेलको नतिजापछि ‘सुपर फोर’ मा पुग्ने अन्तिम टोलीको टुङ्गो लाग्ने छ ।

प्रतियोगिताको समूह ‘ए’ बाट सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश ‘सुपर फोर’ मा पुगिका छन् । ‘सुपर फोर’ मा शीर्ष दुईमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।

प्रतिक्रिया