काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनको सरगर्मी बढ्दै जाँदा जिल्ला–नगर महिला कोटातर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा सुष्मा महराको उम्मेदवारीले विशेष चर्चा पाएको छ ।
नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) की सचिव तथा चर्चित व्यावसायिक प्रतिष्ठान फेसियल हाउसकी प्रबन्ध निर्देशक महराको उम्मेदवारीलाई महासंघभित्र ‘परिवर्तन र व्यावसायिक कुशलता’को सङ्केतका रूपमा हेरिएको छ । साथै, एफएनसीसीआईको इतिहासमै पहिलोपटक विधानमार्फत महिला कोटा सुनिश्चित गरिएपछि यसपटकको निर्वाचन थप विशेष र ऐतिहासिक समेत बनेको छ ।
यो ऐतिहासिक अवसरमा जिल्ला–नगर महिला कोटातर्फ केन्द्रीय कार्यकारिणी सदस्य पदमा सुष्मा महराको उम्मेदवारीले देशभरका उद्योगी–व्यवसायीमाझ नयाँ उत्साह र भरोसा जगाएको छ । महिलाको हिम्मत, आत्मविश्वास र मेहनतले असम्भवलाई पनि सम्भव बनाउँछ । जहाँ महिला नेतृत्व बलियो हुन्छ, त्यहाँ सहकार्य बढ्छ र समृद्धिको बाटो अझ उज्यालो हुने चर्चा गर्दै महराले देशभरका जिल्ला तथा नगर अध्यक्षहरूसँग अमूल्य मत र साथको अपेक्षा व्यक्त गरेकी छिन् ।
को हुन् सुष्मा महरा ?
संघर्षदेखि सफलतासम्मको यात्रा
सुष्मा महरा नेपालको सौन्दर्य र ‘वेलनेस’ क्षेत्रलाई संस्थागत गर्ने एक अग्रणी नाम हो । झन्डै दुई दशकदेखि व्यावसायिक रूपमा सक्रिय महराले ‘फेसियल हाउस’मार्फत देशभर सयौँ महिलाहरूलाई प्रत्यक्ष रोजगारी सृजना गर्दै हजारौँलाई सीपमूलक तालिम दिएर आत्मनिर्भर समेत बनाएकी छिन् ।
उनी केवल एक सफल व्यवसायी मात्र होइनन्, नीतिगत तहमा पैरवी गर्न सक्ने क्षमतावान नेतृत्वकर्ता पनि हुन् । ‘महिलाको आर्थिक स्वतन्त्रता नै समृद्धिको आधार हो र महिला नेतृत्व भनेको सहकार्य, समावेशिता र विश्वासको शक्ति हो’ भन्ने विषयलाई आत्मसाथ गर्दै अघि बढिरहेकी महरा हाल नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) मा सचिव छिन् ।
महिलामा पनि सुष्मा नै किन ?
निर्वाचनको मिति जति नजिक–नजिक आइरहेको छ त्यति नै सुष्मा महराको उम्मेदवारीको चर्चा देशभरका जिल्ला तथा नगर अध्यक्षहरूका बीचमा बढिरहेको छ । किनकी सुष्मा महरा जिल्ला–नगरको सशक्त आवाज बन्ने क्षमता राख्छिन्, त्यसका लागि उनी नेतृत्व अनुभव, संस्थागत आवद्धता र स्पष्ट दृष्टिकोणले खारिएकी छिन् । साथै, सामाजिक उत्तरदायित्व वहनमा समेत क्रियाशील उनी महासंघलाई गति दिने एकमात्र उम्मेदवारको रूपमा हेरिएको छ ।
साना तथा मझौला व्यवसायी (एसएमई) का समस्यालाई महासंघको केन्द्रीय तहमा दृढताका साथ उठाउन सक्ने निडरता उनीमा देखिन्छ । काठमाडौँ संघको सचिवका रूपमा कार्य गर्दा उनले व्यवसायीका हकहित र नीतिगत अस्पष्टताविरुद्ध लड्ने अनुभव बटुलेकी छिन् भने व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छिन् । स्वास्थ्य शिविर, रक्तदान र विपन्न वर्गको उत्थानमा पुर्याएको योगदान, शालीनता र सहयोगी व्यक्तित्वको कदर गर्दै विभिन्न संघसंस्थाहरूले महत्वपूर्ण सम्मानहरू समेत प्रदान गरिसकेको छ ।
साथै झन्झटिलो कर प्रणाली, उच्च ब्याजदर र उद्यममैत्री वातावरणको अभाव जस्ता मुद्दाहरूमा महरासँग स्पष्ट कार्ययोजना छ । त्यसैले उनी भन्छिन्, ‘मेरो उम्मेदवारी पदका लागि होइन, परिवर्तनका लागि हो ।’
महराले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत जितभन्दा पनि समग्र महिला उद्यमीहरूको साझा प्रतिनिधित्वका रूपमा अथ्र्याएकी छिन् । ‘महिलाको हिम्मत र आत्मविश्वासले असम्भवलाई पनि सम्भव बनाउँछ । महासंघमा हाम्रो उपस्थिति नाम मात्रको होइन, काम गरेर देखाउने हुनुपर्छ,’ उनी भन्छिन्, ‘नीति–नियमदेखि व्यावसायिक समस्यासम्म, महिला उद्यमीका मुद्दा प्रभावकारी रूपमा उठाउनु मेरो मुख्य प्रतिबद्धता हो ।’
मतदाताको उत्साह : ‘अबको मत परिवर्तनको आधार’
विभिन्न जिल्ला तथा नगरका अध्यक्षहरूले यसपटक महासंघमा नयाँ सोच र जोस भएका क्षमतावान महिला उद्यमीहरू पुग्नुपर्नेमा जोड दिएका छन् । ‘क्षमतावान महिला उद्यमीहरू महासंघमा पुग्नु आवश्यक छ र सुष्मा महरा जस्तो अनुभवी व्यक्तित्वले महासंघमा ठाउँ पाउँदा समग्र निजी क्षेत्रकै गरिमा बढ्छ,’ एक मतदाताले भने ।
सुष्मा महराले सम्पूर्ण जिल्ला तथा नगर अध्यक्षहरूलाई आफ्नो अमूल्य मतमार्फत परिवर्तनको यो यात्रामा साथ दिन विनम्र आग्रह गरेकी छिन् । उनको अपिल छ, ‘यो मत केवल एउटा व्यक्तिका लागि होइन, महिला नेतृत्वको नयाँ युग र समावेशी महासंघका लागि हुनेछ । मलाई विश्वास छ, यहाँहरूको साथले समृद्धिको ढोका खोल्नेछ ।’
यस्ता छन् सुष्माका पाँच सङ्कल्प
महिला उद्यमीहरूको व्यावसायिक क्षमता अभिवृद्धि र समृद्धिमा ठोस कार्य गर्ने, व्यवसायीका समस्यालाई महासंघको माथिल्लो तहसम्म प्रभावकारी रूपमा पुर्याउने, ‘सहकार्य र विश्वास’ को शक्तिमार्फत निजी क्षेत्रको उज्यालो भविष्य निर्माण गर्ने, सिप, अवसर र आत्मविश्वास बढाउने अभियानलाई देशभर विस्तार गर्ने र उद्यममैत्री नीति निर्माणका लागि निरन्तर पैरवी गर्ने ।