काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका नाममा पार्टीभित्र हुने गुटबन्दीले पार्टीलाई बलियो नबनाउने बताएका छन्। च्यासलमा आज केन्द्रीय कमिटी बैठकमा प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले विरोधीका आरोपमाथि एमाले चुप लागेर बस्न नहुने पनि बताए।
‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन, चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो,’ अध्यक्ष ओलीले भने, ‘विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ।’ उनले सबै संगठन उत्साहित भएर व्यक्ति-व्यक्ति र घरघरमा पुग्नुपर्ने पनि बताए।
‘वैचारिक कामलाई उत्तिकै महत्व दिनुपर्छ। पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ,’ उनले भने, ‘लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कार्यले पार्टीलाई बलियो बनाउँदैन।’
बहकावमा लागेर नभई एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्नुपर्ने उनले बताए । हालै एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई संगठित सदस्यबाटसमेत निकाल्ने निर्णय गरेको थियो।