काठमाण्डाै । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शहीद स्मारक 'बी' डिभिजन लिग फुटबल २०८१ को तयारी पूरा भएको जनाएको छ ।
'बी' डिभिजन लिग भोलिदेखि शुरू हुँदैछ । ३ वर्षपछि हुन लागेको लिगका खेलहरू सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाला हुनेछन् । नेपाल सुपर लिग (एनएसएल) सँग लिगको मिति जुधेका कारण हप्तामा एक वा दुई खेल दशरथ रङ्गशालामा हुने एन्फाले जनाएको छ । एनएसएल आउँदो चैत १६ गतेदेखि शुरू हुनेछ ।
फिफाले 'बी' डिभिजन लिगका लागि झन्डै २ करोड रुपैयाँ बजेट उपलब्ध गराउनेछ । तर फिफाले कम्तीमा १ सय दिनको लिग गराउनुपर्ने भनेको छ । तर एन्फाले मैदान र विभिन्न कारणले ९३ दिनको खेल तालिका रहेको जानकारी दिएको छ ।
लिगमा १४ वटा क्लबले सिङ्गल राउन्ड रोबिनका आधारमा खेल्नेछन् । यो लिगबाट अङ्क तालिकाको शीर्ष २ मा रहने क्लब 'ए' डिभिजनमा बढुवा हुनेछन् । अङ्क तालिकाको पुछारमा रहने २ वटा क्लब 'सी' डिभिजनमा घटुवा हुनेछन् ।
लिगको विजेता टोलीले १५ लाख, दोस्रोले १० र तेस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । लिगको तयारीका लागि हरेक क्लबलाई १४ लाख ५० हजार प्रदान गरिएको एन्फाले जनाएको छ ।