ग्वार्काे 'ओभरपास' काे प्रधानमन्त्रीद्वारा उद्घाटन

काठमाण्डाै  काठमाण्डौ उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा आएको छ । पटक–पटक भाका सार्दै सम्पन्न भएको ओभरपासको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो ।

ओभरपासबाट गाडी चल्न थालेपछि ग्वार्कोमा जाम नहुने सडक विभागले जनाएको छ । ओभरपास बन्नुअघि र बनिरहँदा ग्वार्कोमा घण्टौं जाममा बस्नुपर्ने अवस्था थियो । सातदोबाटो, कोटेश्वर, मङ्गलबजार र इमाडोल जोड्ने ग्वार्को चोक पहिलेदेखि नै गाडीको चाप हुने ठाउँ हो ।

अब सातदोबाटो र कोटेश्वरतर्फ गुड्ने गाडी ओभरपासबाट चल्नेछन् । मङ्गलबजार र इमालडोलतर्फ जाने गाडी ओभरपासमुनिबाट ओहोरदोहोर गर्नेछन् । सातदोबाटो र कोटेश्वरतर्फ चल्ने गाडी विना व्यवधान ओहोरदोहोर गर्ने भएकाले ग्वार्कोमा जाम नहुने भएको हो । अब ग्वार्कोको जाम सातदोबाटो र कोटेश्वरमा सर्ने सम्भावना देखिएको छ ।

ग्वार्को ओभरपासअन्तर्गत २० मिटर स्पानसहित ४ लेनको पुल बनेको छ । यसबाहेक ५ सय मिटर लामो अप्रोच सडक बनेको छ । जसमा बालकुमारी र सातदोबाटोबाट र्‍याम बनाइएको छ । चक्रपथ सडकको बीचको चार लेन सडकलाई पर्खाल लगाएर माथि उठाएर ओभरपास बनाइएको हो । २०७८ फागुन १२ मा ठेक्का लागेको यो परियोजना सम्पन्न हुन ३ वर्षभन्दा बढी समय लागेको छ ।

प्रतिक्रिया