काठमाण्डौ । सिन्धुलीमा माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
बिहीबार काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको माइक्रो गाडी बिहीबार साँझ साढे ५ बजे सिन्धुलीको सुनकोशी गाउँपालिका-७ कानढुंग्रीस्थित विपी राजमार्ग सडकखण्डमा दुर्घटना भएको थियो।
गाडीको टायर अचानक पन्चर भएपछि अनियन्त्रित भएर सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका धनुषाको जनकपुर उपमहानगरपालिका-१० का ५० वर्षीय निर्मल गुप्ताको उपचारको क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसी अनिलकुमार खड्काका अनुसार धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी खड्काले जानकारी दिए।
तीमध्ये ६ जनालाई बिहीबार नै काठमाडौं रेफर गरिएको थियो। उनीहरूमध्ये ४ जना सामान्य र दुई जनाको स्वास्थ्य मध्यम छ। बाँकी ६ जनाको सुनकोशी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। उनीहरूमध्ये २ जना मध्यम र चार जना सामान्य घाइते छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिए।