ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३१औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

bmn.news

काठमाडौं । व्यवसाय, संघर्ष, सहकार्य र सामाजिक उत्तरदायित्वको लामो यात्रालाई समेट्दै ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल आफ्नो गौरवमय ३१औँ वर्षमा प्रवेश गरेको छ । तीन दशकभन्दा बढीको इतिहास बोकेको यो संस्था व्यवसायिक संगठन मात्र होइन, आपसी एकता, सहकार्य र सामाजिक सेवाको सशक्त उदाहरणका रूपमा स्थापित हुँदै आएको छ ।

यस ऐतिहासिक अवसरलाई उत्साह, उमंग र सामाजिक उत्तरदायित्वका साथ मनाउन महासंघले  काठमाडौंको बालाजु बाइसधारामा बिहान ८ बजेदेखि साँझसम्म विविध कार्यक्रमहरूको आयोजना गरेको थियो । दिनभर चलेका गतिविधिहरूले मनोरञ्जन मात्र प्रदान गरेका थिएनन्, बरु व्यवसायीहरूको मन, भावना र उद्देश्यलाई एउटै सूत्रमा बाँध्ने काम पनि गरिरहेको देखिन्थ्यो । 

महासंघका उपाध्यक्ष एवं वनभोज कार्यक्रमका संयोजक सुदन बिष्टको सभापतित्वमा सम्पन्न कार्यक्रम महासंघका महासचिव बिवेकदास श्रेष्ठले सन्चालन गर्नु भएको थियो । 

कार्यक्रममा महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठ , निवर्तमान अध्यक्ष मोहन कुटुवाल,वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठ, प्रथम उपाध्यक्ष केदार अधिकारी लगायत महासंघका पदाधिकारी सदस्यहरु ,प्रदेश समितिका अध्यक्ष ,संयोजक तथा पदाधिकारी सदस्यहरु, बिभिन्न जिल्लाका अध्यक्ष तथा पदाधिकारी सदस्यहरु ,महानगर तथा नगर समितिका सदस्य तथा पदाधिकारीहरु, कलाकार, पत्रकार, सुरक्षकर्मी तथा व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।  

कार्यक्रमको सुरुवात “रक्तदान जीवन दान” भन्ने मूल मन्त्रसहित गरिएको रक्तदान कार्यक्रमबाट भएको थियो । जीवन बचाउने यो पवित्र कार्यमा व्यवसायीहरू उत्साहपूर्वक सहभागी भएका थिए । आफ्नो व्यस्त समयबाट केही समय निकालेर अरूको जीवन बचाउन अगाडि सरेका ती हातहरूले मानवताको वास्तविक अर्थ उजागर गरे । काठमाडौं मेडिकल कलेज (ब्लड बैंक) सँगको सहकार्यमा सम्पन्न उक्त कार्यक्रमले धेरै बिरामीका लागि आशाको किरण बन्ने विश्वास गरिएको छ ।


वनभोज कार्यक्रम—जहाँ व्यवसायीहरूबीचको औपचारिकता भत्किएर आत्मीयतामा परिणत भयो । वर्षौंसम्म प्रतिस्पर्धामा रहेका हातहरू मित्रताको भावनामा बाँधिए । हाँसो, खुशी र सम्झनाहरूको संगम बनेको त्यो वातावरणले ‘व्यवसाय भन्दा माथि सम्बन्ध’ भन्ने सन्देश दिएको अनुभूति गराएको थियो ।

ख्याति प्राप्त कलाकारहरु डिजराज पौडेल,प्रकाश ओझा,लोक दोहोरी गायीका उमा श्रेष्ठ, लोक गायक सुर्यमणी आचार्य , अमृत खाती, स्मृती गौतम,यादव श्रेष्ठ लगायतको सांस्कृतिक कार्यक्रमले त झन् कार्यक्रममा रौनक थपेको थियो । नेपाली कला, संस्कृति र मौलिकतालाई झल्काउने प्रस्तुतीहरूले सहभागीहरूलाई भावनात्मक रूपमा जोडिदिए । गीत, संगीत र नृत्यले थाकेका मनहरूलाई नयाँ ऊर्जा प्रदान गर्यो भने व्यवसायीहरूको लुकेको प्रतिभालाई पनि उजागर गरेको थियो ।

वनभोज कार्यक्रममा खेलकुद कार्यक्रमले व्यवसायीहरूको शारीरिक स्फूर्ति मात्र होइन, भ्रातृत्व र टिम स्पिरिटलाई पनि मजबुत बनायो । प्रतिस्पर्धाको मैदानमा उत्रिएका सहभागीहरू जित हारभन्दा माथि उठेर एकअर्कासँगको सम्बन्धलाई अझ गाढा बनाउँदै गरेको दृष्य देखिएको थियो ।

यस समग्र कार्यक्रमलाई सफल बनाउन दिनरात खटिएका वनभोज कार्यक्रम आयोजक संयोजन समितिका संयोजक, विभिन्न उपसमितिका सदस्यहरू, प्रदेश, जिल्ला तथा महानगररनगर समितिका अध्यक्ष एवं पदाधिकारीहरू, पत्रकार, कलाकार र सुरक्षाकर्मीहरूको भूमिका अतुलनीय रह्यो । साथै, कार्यक्रममा उपस्थित सम्पूर्ण व्यवसायीहरूको सक्रिय सहभागिताले यसलाई ऐतिहासिक सफलतामा परिणत गरेको भन्दै महासंघले कार्यक्रम सफल बनाउन सहयोग र्पुयाउने सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ । साथै, कार्यक्रम सञ्चालनका क्रममा केही कमजोरीहरू हुन सक्ने स्वीकार गर्दै ती कमजोरीहरूलाई सकारात्मक सुझाव र सल्लाहमार्फत सुधार गर्ने प्रतिबद्धता पनि जनाएको छ ।


महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले यस अवसरमा भावुक हुँदै भने, “विचार होस् या धन सम्पतिमा, कोही पनि कहिल्यै पूर्ण हुँदैन। हामी सिक्दै, सुधारिँदै अघि बढ्नेछौं। तर व्यवसायिक हकहित र उत्थानको विषयमा महासंघ कहिल्यै झुक्ने छैन।”

उनको यो अभिव्यक्तिले केवल नेतृत्वको दृढता मात्र होइन, सम्पूर्ण व्यवसायीहरूको साझा संकल्पलाई पनि उजागर गर्छ। “एकता नै हाम्रो शक्ति हो, व्यावसायिक हक हित हाम्रो प्रतिबद्धता हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै महासंघले आगामी दिनहरूमा अझ सशक्त, संगठित र प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

३१औँ स्थापना दिवस केवल एउटा उत्सव मात्र रहेन, यो एकताको पुनः पुष्टि, सेवाको पुनः प्रतिबद्धता र उज्ज्वल भविष्यतर्फको सशक्त संकेत बनेर समापन भएको  थियो ।


प्रतिक्रिया