काठमाडौं । धादिङमा यात्रुवाहक बस दुर्घटना भएको छ। आइतबार राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र २३ जना घाइते रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार आइतबार राति भक्तपुरबाट चितवनको देवघाट जाँदै गरेको बा ३ ख ८९२३ नम्बरको बस धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ स्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो। बस आफै अनियन्त्रित भई सडकछेउमा पल्टिएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा दोलखा भीरकोटकी ५० वर्षीया पार्वती काफ्लेको निधन भएको प्रहरीले बताएको छ। दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल पुर्याइएकामा उनको आइतबार राति नै निधन भएको हो।
दुर्घटनामा घाइते भएकामध्ये ५ जनाको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। ९ जनाको प्रहरी अस्पताल र ८ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। दोलखा घर भएका बस चालक जीतबहादुर मगरको भने साइबाबा अस्पताल धार्केमा उपचार भइरहेको छ।
सामान्य घाइते केही यात्रु उपचारपछि घर फर्किएको प्रहरी चौकी महादेवबेँसीले जानकारी दिएको छ।