गृहमन्त्री सुधन गुरुङविरुद्ध मानव अधिकार आयोगमा उजुरी, हिरासतमा धम्की दिएको आरोप

bmn.news

काठमाडौँ :- प्रहरी हिरासतमा रहेका व्यक्तिहरूमाथि मानसिक दबाब र ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ।

अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले पुल्चोकस्थित आयोगको केन्द्रीय कार्यालय पुगेर गृहमन्त्रीविरुद्ध निवेदन दिएका हुन्। उनीहरूले राज्यको जिम्मेवार पदमा रहेका व्यक्तिबाट आफूहरूको मानव अधिकार उल्लंघन भएको दाबी गरेका छन्।

उजुरीमा उल्लेख भएअनुसार, गत जेठ १९ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमा विषयमा भारतीय दूतावास अगाडि गरिएको शान्तिपूर्ण प्रदर्शनका क्रममा उनीहरू पक्राउ परेका थिए।

पक्राउपछि उनीहरूलाई सोह्रखुट्टे प्रहरी वृत्तमा राखिएको र सोही क्रममा गृहमन्त्रीको नेतृत्वमा आएको टोली हिरासत कक्षभित्र प्रवेश गरेको आरोप लगाइएको छ।

उजुरीकर्ताले हिरासतभित्र आफूहरूमाथि गालीगलौज, मानसिक दबाब र ज्यान मार्ने धम्की दिइएको दाबी गरेका छन्। उनीहरूले घटनाको सत्यतथ्य पत्ता लगाउन आयोगको विशेष टोलीमार्फत छानबिन गर्न, सीसीटीभी फुटेज तथा आगन्तुक अभिलेख सुरक्षित राख्न माग गरेका छन्।

उनीहरूले पदको दुरुपयोग गरी मानव अधिकार उल्लंघन गरिएको भन्दै दोषीमाथि कानुनी कारबाही र हिरासतमा अनधिकृत प्रवेश गराउन सहयोग गर्ने प्रहरी कर्मचारीमाथि विभागीय कारबाहीको माग गरेका छन्।

यस विषयमा गृहमन्त्री सुधन गुरुङ वा सम्बन्धित सरकारी निकायको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।


प्रतिक्रिया