आज संसद बैठक बस्दै

काठमाडौं । संसदको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दै छ । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्न लागेको हो ।आजको प्रतिनिधि सभा बैठकले संसद नचलेको बेला सरकारले ल्याएका सबै अध्यादेशलाई निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।

निर्णयार्थ पेस गर्नु अगाडि अस्वीकृतको सूचना दिनेलाई बोल्न दिइनेछ । २९ पुसमा थप चारवटा अध्यादेश जारी भएको थियो भने २ माघमा राष्ट्रपतिले अर्को एउटा अध्यादेश जारी गरेका थिए । त्यसअघि १४ पुसमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी भएको थियो ।

सबै ६ वटा अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेका छन् । ६ वटा अध्यादेशउपर प्रतिनिधि सभामा ५० वटा अस्वीकृतको सूचना दर्ता भएका छन् । प्रतिनिधिसभामा अध्यादेश अस्वीकृतको प्रस्तावकर्ताले ५ मिनेट र समर्थकले ३ मिनेट बोल्न पाउने भएका छन् ।

अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत भएपछि संसदमा सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ स्वीकृत गरियोस भनि प्रस्ताव गर्नेछन् । त्यसपछि सम्बन्धित मन्त्रीले अध्यादेश पालैपालो पारितका लागि पालैपालो प्रस्ताव गर्नेछन् ।

प्रतिक्रिया