काठमाडौं । क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा जर्मनी माथि पुनरागमन जित निकाल्दै पोर्चुगल युईएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
जर्मनीको घरेलु मैदान एलिएन्ज एरिेनामा भएको खेलमा रोनाल्डोले १३७औं अन्तर्राष्ट्रिय गोल गरेपछि घरेलु टोलीलाई २-१ गोलले हराएर पोर्चुगल उपाधि नजिक पुगेको हो । ४० वर्षीय रोनाल्डोले नुनो मेन्डेजको लो पासमा ६८औं मिनेटमा विजयी गोल गरेका थिए ।अब पोर्चुगलले नेसन्स कपको उपाधिका लागि स्पेन र फ्रान्सबीच हुने खेलको विजेतासँग खेल्नेछ ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर फ्लोरिन रिट्जले ४८औं मिनेटमा गोल गर्दै जर्मनीलाई पहिले अग्रता दिलाएका थिए । घरेलु मैदानमा जर्मनीले उक्त अग्रता कायम राख्न सकेन ।
फ्रान्सिस्को कोनसेइडोले ६३औं मिनेटमा पोर्चुगलका लागि बराबरी गोल फर्काए । त्यसको सात मिनेटपछि नै रोनाल्डोले पोर्चुगलका लागि विजयी गोल गरे । पोर्चुगलले सन् २०१९ मा सुरु भएको नेसन्स लिगको पहिलो संस्करणकै उपाधि जितेको थियो ।