बैतडी:- बैतडीको पुर्चौडी नगरपालिका–९ तल्लादेहीस्थित खेती माध्यमिक विद्यालयमा एक विद्यार्थीमाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ। विद्यालयका प्रधानाध्यापक धवलसिंह भण्डारीले कक्षा ८ मा अध्ययनरत १२ वर्षीय विद्यार्थी तेजसिंह भण्डारीलाई कुटपिट गरेको आरोप लागेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बुधबार
बिहान करिब ११ः४० बजे भएको उक्त घटनामा विद्यार्थी घाइते भएका छन्। कुटपिटपछि उनका
साथीहरूले उनलाई उपचारका लागि तल्लादेही स्वास्थ्य चौकी पुर्याएका थिए।
प्रहरीका अनुसार घाइते विद्यार्थीको मुख, टाउको, हातखुट्टालगायत शरीरका
विभिन्न भागमा चोट लागेको छ। थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि उनलाई धनगढी
रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवन
तिमल्सिनाले जानकारी दिए।
घटनाको सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी
पोस्ट तल्लादेहीबाट प्रहरी सहायक निरीक्षक नैनसिंह धामीको नेतृत्वमा तीन सदस्यीय
प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनाको कारण र परिस्थितिबारे थप
अनुसन्धान गरिरहेको जनाएको छ।
यसैबीच, आरोपित प्रधानाध्यापक धवलसिंह भण्डारीलाई प्रहरीले
नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ।