काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारत भ्रमणका क्रममा करिब एक घण्टा लामो भेटवार्ता भएको छ।
दिल्लीस्थित प्रधानमन्त्रीनिवासमा करिब एक घण्टा लामो औपचारिक भेटवार्तामा दुवै पक्षले नेपाल–भारत सम्बन्धलाई ‘विकास कूटनीति’ को नयाँ चरणमा अघि बढाउने, कनेक्टिभिटी विस्तार गर्ने तथा आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा जोड दिएका छन् ।
भेटपछि लामिछानेले नेपाल–भारत सम्बन्धलाई विकास, विश्वास र साझा समृद्धिको नयाँ युगतर्फ अघि बढाउने प्रतिक्रिया दिएका छन् । उनले डिजिटल पूर्वाधार, कनेक्टिभिटी विस्तार, आर्थिक सहकार्य तथा साझा सभ्यतालाई भविष्यको साझेदारीका प्रमुख आधारका रूपमा उल्लेख गरे।
उनका अनुसार दुवै देशबीचको सम्बन्ध कूटनीतिक तहमा मात्र सीमित नभई जनस्तरको आत्मीयता, सांस्कृतिक सम्बन्ध र ऐतिहासिक साझेदारीसँग समेत जोडिएको छ। भेटवार्तामा सीमालगायत नेपाल–भारत सम्बन्धका सबै विषय संवादमार्फत समाधान गर्नुपर्नेमा दुवै पक्षको जोड थियो ।
भेटका क्रममा लामिछानेले प्रधानमन्त्री मोदीलाई नेपालको आस्था र पहिचानको प्रतीक पशुपतिनाथ मन्दिरको प्रतिकृति उपहार प्रदान गरेका थिए। उक्त तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ।
यो भेटलाई नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य र विकास साझेदारीलाई थप मजबुत बनाउने महत्वपूर्ण संवादका रूपमा हेरिएको छ।