काठमाण्डौ । मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागत र परिक्रमा मेलामा सहभागिताका लागि महोत्तरीको मटिहानी नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मिथिला माध्यमिकी परिक्रमा सांस्कृतिक तथा धार्मिक उत्सव भएको हुँदा आफ्नो ठाउँमा आइपुग्ने यात्री र अतिथिको स्वागतमा सबैको सहभागिताका लागि सार्वजनिक बिदा दिइएको मेयर हरिप्रसाद मण्डलले बताउनुभयो ।
मिथिला माध्यमिकी परिक्रमाको ‘डोला’ (श्रीराम सीताको प्रतिमा राखिएको) साथ यात्राका सहभागी आज मटिहानी आइपुग्दैछन् ।
यात्राको चौथो दिन ‘डोला’ मटिहानी आइपुग्ने मिथिलाको परम्परा हो । आफ्नो ठाउँमा मेला र रात्रि विश्राम पर्ने दिन जलेश्वर नगरपालिका, महोत्तरी गाउँपालिका, बलवा नगरपालिका र भङ्गाहा नगरपालिका कार्यालयले पनि सार्वजनिक बिदा दिँदै आएका छन् ।
गएको बिहीवार धनुषाको मिथिला विहारी–८ कचुरीको मिथिला विहारी मन्दिरबाट श्रीराम र जनकपुरधाम–८ सुन्दरसदन मठबाट सीताजीको प्रतिमा ‘डोला’ मा राखेर शरू भएको यात्रा १५ रात बिताएर १६औँ दिन बिहान जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर सम्पन्न गरिने परम्परा छ ।
यो यात्रामा महोत्तरीका पाँच, धनुषाका छ र भारतको मधुवनी जिल्लामा चार पडावस्थल (रात्रि विश्रामस्थल) को चलन छ ।