१० जिल्लामा फैलियो बर्डफ्लु, ५ लाखभन्दा बढी पन्छी नष्ट

bmn.news

काठमाडौं: देशका विभिन्न जिल्लामा फैलिएको बर्डफ्लु नियन्त्रणका लागि सरकारले आकस्मिक अभियान सञ्चालन गरेको छ। सङ्क्रमण प्रभावित क्षेत्रमा रोग नियन्त्रण तथा थप फैलिन नदिन पशुसेवा विभागको नेतृत्वमा द्रुत कार्य टोली परिचालन गरिएको छ।

पशुसेवा विभागका महानिर्देशक डा। उमेश दाहालका अनुसार हालसम्म बर्डफ्लु पुष्टि भएका १० जिल्लाका ७२ वटा फार्ममा रहेका करिब ५ लाख १५ हजार पन्छी नष्ट गरिएको छ। प्रभावितमध्ये लेयर्स तथा स्थानीय जातका कुखुरा सबैभन्दा बढी प्रभावित भएका छन्।

रोग नियन्त्रण अभियानअन्तर्गत हालसम्म करिब ७ लाख अण्डा र १८३ टन पशु दाना समेत नष्ट गरिएको विभागले जनाएको छ। सङ्क्रमण फैलिन नदिन प्रभावित क्षेत्रका सम्पूर्ण पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गर्नुपरेको विभागको भनाइ छ।

 केही साताअघि झापा, मोरङ र सुनसरीबाट सुरु भएको बर्डफ्लु संक्रमण महोत्तरी, बारा, चितवन हुँदै काठमाडौं, भक्तपुर, ललितपुर र पछिल्लो समय नवलपरासीसम्म फैलिएको महानिर्देशक दाहालले जानकारी दिए।

 उनका अनुसार बर्डफ्लुको प्रभावकारी उपचार उपलब्ध नभएकाले रोग देखिएलगत्तै नियन्त्रणमा लिनु नै सबैभन्दा प्रभावकारी उपाय हो। त्यसका लागि पशु चिकित्सक तथा पशु स्वास्थ्यकर्मीहरू चौबीसै घण्टा खटिएको विभागले जनाएको छ।

 हाल काठमाडौं उपत्यका बर्डफ्लुको उच्च जोखिममा रहेको छ। यद्यपि चितवनसहित अधिकांश प्रभावित जिल्लामा संक्रमण क्रमशः नियन्त्रणको चरणमा पुगेको विभागको दाबी छ।

 प्रचलित नियमअनुसार प्रभावित क्षेत्रमा पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गरिएको मितिबाट करिब दुई महिनापछि मात्रै पुनः व्यवसाय सञ्चालन गर्न पाइने व्यवस्था छ।

बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ अनुसार रोग नियन्त्रणका क्रममा पन्छी तथा उत्पादन नष्ट गरिएका किसानलाई लागत मूल्यको ७५ प्रतिशतसम्म राहत उपलब्ध गराइने व्यवस्था रहेको छ। राहत रकमको निर्धारण सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सरोकारवाला निकायको बैठकले गर्ने जनाइएको छ।

सरकारले किसान, व्यवसायी तथा सर्वसाधारणलाई सतर्कता अपनाउन, पन्छीमा अस्वाभाविक मृत्यु देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन तथा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया