रास्वपाले महाधिवेशन निर्वाचनका लागि २२ सदस्यीय समिति गठन गर्‍यो

bmn.news

काठमाडौं ;- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनलाई व्यवस्थित, निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न गर्न २२ सदस्यीय निर्वाचन संरचना गठन गरेको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले आइतबार जारी गरेको सूचनाअनुसार महाधिवेशनका लागि १० सदस्यीय केन्द्रीय निर्वाचन आयोग तथा त्यसअन्तर्गत रहने १२ सदस्यीय ‘राष्ट्रिय महाधिवेशन निर्वाचन समिति–२०८३’ गठन गरिएको हो।

केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी र उपप्रमुखमा डा। राम गुरुङ रहेका छन्। आयोगका सदस्यहरूमा कुमार आनन्द मिश्र, नारायणप्रसाद प्याकुरेल, सुमित्रा पण्डित, गोकुल सापकोटा, निश्चल सिंह भण्डारी, बीपी दाहाल, सौरेन्द्रबहादुर शाह र सुदनप्रसाद ज्ञवाली छन्।

त्यसैगरी महाधिवेशनको निर्वाचन प्रक्रिया सञ्चालन गर्न गठित राष्ट्रिय महाधिवेशन निर्वाचन समितिमा वीरेन्द्र केएम, गणेशदत्त भट्ट, डा. दिनेश महतो, आयुष्मा अर्याल, भूपेन्द्रराज बस्नेत, मिलन कार्की, सार्थक भट्टराई र रामकुमार खतिवडा सदस्यका रूपमा चयन भएका छन्।

निर्वाचन व्यवस्थापनमा सहयोग पुर्‍याउन शुभराज शिल्पकार, सेनु लामा तामाङ, राजेन्द्रकुमार श्रेष्ठ र मुकेश झालाई निर्वाचन कर्मचारीको जिम्मेवारी दिइएको छ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले महाधिवेशनलाई ऐतिहासिक बनाउने तथा निर्वाचन प्रक्रियालाई पूर्ण लोकतान्त्रिक र पारदर्शी ढंगबाट सम्पन्न गराउने उद्देश्यका साथ समिति गठन गरिएको बताएका छन्।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आइतबारदेखि चितवनमा सुरु भएको छ। महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयनसँगै भावी राजनीतिक र संगठनात्मक कार्यदिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया