काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

bmn.news

काठमाडौँ बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तल रहे पनि काठमाडौँ उपत्यकासहित ३१ जिल्लाका स-साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ।

सोमबार बिहान जारी बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरू, साथै कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्ती नदीको बहाव अहिले सतर्कता तहभन्दा तल रहेको छ।

महाशाखाका अनुसार आज गोरखा, रूपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङका स-साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने भएकाले आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।

यस्तै झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, नवलपरासी (पूर्व र पश्चिम), प्युठान, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला तथा आसपासका जिल्लाका स-साना नदीमा पनि बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ।

महाशाखाले साउन ५ र ६ गते पनि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स-साना नदीमा बहाव अचानक बढ्न सक्ने सम्भावना औँल्याउँदै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया