रुबी भ्यालीमा स्वास्थ्य टोली पुग्दा गाउँभर खुसी — दुई दिनमै सयौं बालबालिकाको दाँत निकालियो, विशेषज्ञ सेवा पाएपछि स्थानीय भावुक

bmn.news

धादिङ । दुर्गम पहाडी क्षेत्र रुबी भ्याली ग्रामीण नगरपालिकामा सञ्चालन गरिएको विद्यालय केन्द्रित एकीकृत स्वास्थ्य शिविरले सयौं विद्यार्थी र स्थानीयलाई प्रत्यक्ष राहत दिएको छ । ॐ समाज दन्त अस्पताल, सेचेन करुणा र रुबी भ्याली आधारभूत अस्पतालको सहकार्यमा सञ्चालित शिविरमा दन्त, आँखा, ईएनटी, पोषण, भिडियो एक्स–रे लगायतका विशेषज्ञ सेवाहरू गाउँमै पुगेपछि स्थानीय उत्साहित बनेका छन् ।

दुई दिनसम्म सञ्चालन भएको शिविरमा पाँच विद्यालयका ३४८ भन्दा बढी विद्यार्थीहरूको दाँत परीक्षण गरिएको थियो । जसमध्ये १०७ जनाको दाँत निकालिएको र ७० जनाको दाँत भरिएको दन्त चिकित्सकहरूले बताएका छन् । विशेषज्ञहरूका अनुसार अधिकांश बालबालिकामा दाँतको समस्या गम्भीर अवस्थामा भेटिएको थियो ।

कठिन पहाडी यात्रा पार गर्दै गाउँ पुगेको स्वास्थ्य टोलीलाई स्थानीयले भव्य स्वागत गरेका थिए । सामाजिक अभियन्ता तथा पत्रकार राजन थापा को नेतृत्वमा सम्पन्न शिविरलाई स्थानीयले “मानवतासँग जोडिएको अभियान” को रूपमा व्याख्या गरेका छन् । स्थानीयका अनुसार आफ्नै गाउँमा पहिलो पटक विशेषज्ञ स्वास्थ्य सेवा पाउँदा बालबालिका र वृद्धवृद्धाको अनुहारमा खुसी र आशा देखिएको थियो ।

प्रतिक्रिया