म्याग्दी:- म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक खण्ड १२ घण्टापछि पुनः सञ्चालनमा आएको छ। अन्नपूर्ण गाउँपालिका–६ महभिर क्षेत्रमा सडकमाथि खसेका ढुङ्गा हटाएपछि आज बिहानदेखि यातायात सेवा सुचारु भएको हो।
गएराति महभिरमा गुडिरहेको विद्युतीय गाडीमाथि
ठूलो ढुङ्गा खस्दा सडक अवरुद्ध हुनुका साथै एक जनाको मृत्यु भएको थियो। दुर्घटनामा
वीरगञ्ज महानगरपालिकाका २३ वर्षीय सोहिल मियाको ज्यान गएको प्रहरीले जनाएको छ।
मिया मुस्ताङस्थित कोरला नाकाबाट विद्युतीय
गाडी चलाएर पोखरातर्फ जाँदै गरेका बेला अचानक खसेको ढुङ्गाले गाडी च्यापेको थियो।
दुर्घटनाका समयमा गाडीमा उनी एक्लै रहेको बताइएको छ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर
इन्द्रसिंह शेरचनका अनुसार सडक विभागका उपकरण परिचालन गरी सडकमा थुप्रिएका ढुङ्गा
हटाएपछि यातायात सेवा पुनः सञ्चालन गरिएको हो। अवरुद्ध सडक खुलेसँगै रोकिएका
सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेका छन्।
सडक फराकिलो बनाउने क्रममा विस्फोटक पदार्थ
प्रयोग गरेर निर्माण कार्य भइरहेका बेला उक्त दुर्घटना भएको जनाइएको छ। घटनापछि
सुरक्षाकर्मीको टोलीले मियाको उद्धार गरी प्रदेश अस्पताल बेनी पुर्याएको थियो।
अचेत अवस्थामा अस्पताल ल्याइएका मियालाई चिकित्सकले राति मृत घोषणा गरेको जिल्ला प्रहरी
कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।