रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित, पछि हटे विराजभक्त

bmn.news

काठमाडौं;-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।

पुरुष उपसभापति पदका अर्का उम्मेदवार विराजभक्त श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि वाग्ले निर्विरोध बनेका हुन्। विशेष कुरा, श्रेष्ठ स्वयं वाग्लेको उम्मेदवारीका प्रस्तावकसमेत रहेका थिए। यद्यपि पार्टीको निर्वाचन आयोगले पदाधिकारी उम्मेदवारहरूको अन्तिम नामावली भने सार्वजनिक गरिसकेको छैन।

यसअघि नै पार्टी सभापति पदमा रवि लामिछाने निर्विरोध चयन भइसकेका छन्।

रास्वपा विधानअनुसार एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि निर्वाचन हुने व्यवस्था छ। पुरुषतर्फ उपसभापति पदमा वाग्ले निर्विरोध भए पनि महिला उपसभापति पदका लागि सोबिता गौतम, इन्दिरा रानामगर र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ।

चितवनमा असार ७ गतेदेखि सुरु भएको रास्वपाको प्रथम महाधिवेशन तीन दिनभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि छैटौं दिनसम्म लम्बिएको छ। बिहीबार केन्द्रीय सदस्य निर्वाचनको नतिजा सार्वजनिक गरिएको थियो, जहाँ केही असन्तुष्टिका आवाजसमेत उठेका थिए।

हालसम्म ९९ जना केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन् भने बाँकी पदाधिकारी चयन प्रक्रिया जारी रहेको पार्टीले जनाएको छ।

प्रतिक्रिया