सेतो मच्छिन्द्रनाथको महास्नान

काठमाडौँ । सेतो मच्छिन्द्रनाथको महास्नान आज काठमाडौँको केलटोलस्थित जन बहाः परिसरको विशेष मण्डपमा विधिपूर्वक गरिएको छ।  शोभा भगवतीबाट ल्याएको शुद्ध जलले सेतो मच्छिन्द्रनाथलाई बज्राचार्य गुरुबाट स्नान गराइएको हो। 

यस कार्यलाई स्थानीय भाषामा ‘न्हवं’ वा ‘धलिँ लुइगुँ’ भनिन्छ । हरेक वर्षको पोहेलाथ्व अष्टमीका दिन मच्छिन्द्रनाथलाई महास्नान गराइन्छ । मच्छिन्द्रनाथ देवताले लगाएका सबै आभूषण, गरगहना तथा लुगाहरू फुकालिन्छ। त्यसपछि दुध, घ्यु, मह, तातो पानी, चिसो पानीले तान्त्रिक विधि अनुसार नुहाइदिने गरिन्छ। नुहाई दिने र पछि रङहरू लगाई सजाउने सम्पूर्ण गतिविधि मन्दिरकै पुजारीले गर्छन्।

मच्छिन्द्रनाथलाई वर्षा र सहकालको देवताको रूपमा मानिन्छ। हिन्दु तथा बौद्धमार्गी सबैले मान्दै आएको सेतो मच्छिन्द्रनाथलाई करूणामय, अवलोकितेश्वर र जमलेश्वरको नामले पनि चिनिन्छ। सेतो मच्छिन्द्रनाथलाई यसरी नुहाइदिँदा समस्त मानव जातिमा परिवर्तन र नयाँ ऊर्जा प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ ।


प्रतिक्रिया