कञ्चनपुर:- कञ्चनपुरमा एक सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन्। भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
घटना महेन्द्रनगरस्थित एक होटलमा आयोजित कार्यक्रममा भएको
बताइएको छ। कार्यक्रमस्थलमा भएको भनाभनपछि कुँवरले वडाध्यक्ष देवकोटामाथि मुक्का
प्रहार गरेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा देखिएको छ।
घटनापछि वडा प्रहरी कार्यालयको टोलीले कुँवरलाई तत्कालै
नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ। जिल्ला प्रहरी कार्यालय
कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार
वडाध्यक्ष देवकोटाले कुँवरविरुद्ध अभद्र व्यवहारसम्बन्धी किटानी जाहेरी दिएका छन्।
प्रहरीले प्राप्त जाहेरीका आधारमा कानुनी प्रक्रिया अघि
बढाइएको जनाएको छ।
यता, कुँवरले भने सामाजिक सञ्जालमार्फत आफ्नो धारणा
सार्वजनिक गर्दै वडाध्यक्ष देवकोटाले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन्।
उनले फेसबुकमा भिडियो साझा गर्दै घटनाको आफ्नो पक्ष प्रस्तुत गरेकी हुन्।
कुँवर नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाकी सदस्य हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।