काठमाडौं:- पूर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गते भएका घटनाबारे गरेको भनिएको छानबिन, अनुसन्धान प्रतिवेदन, निर्णय तथा त्यससँग सम्बन्धित सम्पूर्ण कागजात उपलब्ध गराउन माग गर्दै आयोगमा औपचारिक निवेदन दर्ता गराएका छन्।
ओलीका तर्फबाट बिहीबार
ललितपुरस्थित आयोगको कार्यालय पुगेर आयोगका सचिव मुरारी खरेललाई निवेदन बुझाइएको
हो। निवेदनमा आयोगले सार्वजनिक गरेको भनिएको निर्णयको आधार, अनुसन्धान प्रक्रिया तथा त्यससँग सम्बन्धित सबै कागजात
उपलब्ध गराउन माग गरिएको छ।
निवेदनमा आयोगले भदौ २३ र
२४ गतेका घटनाबारे अनुसन्धान गरेको जानकारी सार्वजनिक गरे पनि त्यसको प्रतिवेदन र
निर्णयको आधिकारिक जानकारी आफूलाई उपलब्ध नगराइएको उल्लेख गरिएको छ।
ओलीले भदौ २३ गते स्कुले
बालबालिकालाई मानव ढाल बनाएर संसद् भवनमा आक्रमण गर्ने, प्रहरी ब्यारिकेट तोड्ने तथा अराजक गतिविधि भएको दाबी गर्दै
त्यसपछि स्थानीय प्रशासन ऐनअनुसार गरिएको कारबाहीका क्रममा मानवीय क्षति भएको
बताएका छन्। त्यस्तै, भदौ २४ गते देशभर
सरकारी भवन, राजनीतिक दलका कार्यालय,
औद्योगिक प्रतिष्ठान, सञ्चारमाध्यमका कार्यालय तथा नेताहरूका निजी घरमा आगजनी,
तोडफोड र लुटपाट भएको उल्लेख गर्दै ती घटनाबारे
आयोगले अनुसन्धान गरेको सार्वजनिक भएको जनाइएको छ।
निवेदनमा आयोगको बैठक
नम्बर १७७ को निर्णयमा उल्लेख गरिएका सिफारिस र त्यसका तथ्यगत आधारबीच मेल नखाएको
जिकिर गरिएको छ। आयोगले संविधान र कानुनविपरीत सिफारिस गरेको देखिएकाले आफू
प्रत्यक्ष प्रभावित भएको उल्लेख गर्दै निर्णय वास्तविक हो वा होइन तथा त्यसमा
पुग्न कुन तथ्य र प्रमाण संकलन गरिएको हो भन्ने जानकारी पाउनु आफ्नो अधिकार भएको
ओलीले बताएका छन्।
आयोगले आफ्नो विरुद्ध
भएको भनिएको निर्णय र त्यसको आधार बनेको अनुसन्धान प्रतिवेदन औपचारिक रूपमा उपलब्ध
गराउने अपेक्षा गरे पनि सार्वजनिक भएको करिब ३० दिन बितिसक्दा समेत कुनै जानकारी
नदिएकाले निवेदन दिनुपरेको उनको भनाइ छ।
ओलीले आयोगसँग बैठक नम्बर
१७७ को प्रमाणित प्रतिलिपि, आयोग सदस्य लिली
थापाको नेतृत्वमा गठित समितिले पेश गरेको भनिएको प्रतिवेदन, प्रतिवेदनमा भएका संशोधन र त्यसको कारणसम्बन्धी विवरण,
थप अनुसन्धान भएको भए त्यसको प्रतिवेदन तथा
संकलित बयान र अन्य सम्बन्धित कागजातको प्रतिलिपि उपलब्ध गराउन माग गरेका छन्।