काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुखको जिम्मेवारी विष्णु जोशीले पाएका छन् । मंगलबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले राजुनाथ पाण्डेलाई निलम्बन गरी नगर प्रहरी प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु जोशीलाई दिएका हुन्।
गुरागाईंका अनुसार जोशीलाई ६ महिनाका लागि नगर प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ। 'चित्तबुझ्दो जबाफ नआएपछि पाण्डेलाई निलम्बन गरी विष्णु जोशीलाई ६ महिनाका लागि नगर प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ,' उनले भने।
चैत २१ गते आफू कार्यालय जाँदा हुलहुज्जत गरेको भन्दै गुरागाईंले जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। गत सोमबार पाण्डेले आफूले आफ्नो कर्तव्य पालना मात्रै गरेको उल्लेख गर्दै स्पष्टीकरण बुझाएका थिए।
२३ जेठ २०८२, बुधबार ०२:१० मा प्रकाशित