काठमाडौं:- देशभर मनसुनी गतिविधि सक्रिय भएसँगै आगामी तीन दिनसम्म भारीदेखि धेरै भारी वर्षा, मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असार १६, १७ र १८ गतेका लागि विशेष चेतावनी जारी गर्दै सर्वसाधारणलाई सतर्क रहन र मौसमसम्बन्धी अद्यावधिक सूचना पछ्याउन आग्रह गरेको छ।
महाशाखाका अनुसार आज (मंगलबार) देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा
हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ भने कोशी,
बागमती, गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको
सम्भावना छ।
रातिको समयमा पनि कोशी,
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै
भारी वर्षा हुने अनुमान गरिएको छ। साथै, ती प्रदेशका तराई क्षेत्र तथा मधेसका केही स्थानमा हावाहुरी चल्न सक्ने
महाशाखाले जनाएको छ।
बुधबार र बिहीबार देशभर
पूर्ण बदली रहने तथा अधिकांश पहाडी क्षेत्रमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको
छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका विभिन्न स्थानमा भारी वर्षा तथा
तराई क्षेत्रमा हावाहुरीको जोखिम कायमै रहनेछ।
महाशाखाले विशेषगरी कोशी,
गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र
मधेस प्रदेशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले
पहाडी क्षेत्रमा पहिरो, भूक्षय र गेग्रान
बहाव तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने जनाएको छ।
नदी तथा खोलामा जलसतह
बढ्न सक्ने, साना नदीहरूमा आकस्मिक
बाढी आउन सक्ने र यातायात सेवा प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन
अनुरोध गरिएको छ।
बाढी पूर्वानुमान
महाशाखाका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीजस्ता ठूला नदीको बहाव हाल सतर्कता
तहभन्दा तल रहे पनि झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम,
सङ्खुवासभा, नवलपरासी पश्चिम, रुपन्देही, कैलाली र
कञ्चनपुरलगायत जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना छ।
महाशाखाले आगामी दुई दिन कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने जनाएको छ।
आज देशका अधिकांश प्रमुख
सहरमा दिउँसो र राति दुवै समयमा मेघगर्जनसहित वर्षाको सम्भावना ४० देखि ६०
प्रतिशतसम्म रहेको छ। विशेषगरी काठमाडौं, पोखरा, विराटनगर, धरान, धनकुटा, जिरी र ताप्लेजुङमा
वर्षाको सम्भावना उच्च ६० प्रतिशत रहेको महाशाखाको पूर्वानुमान छ।
काठमाडौंको अधिकतम
तापक्रम २७ देखि २९ डिग्री सेल्सियस तथा न्यूनतम २० देखि २२ डिग्री रहने अनुमान
गरिएको छ। पोखराको अधिकतम तापक्रम २६ देखि २८ डिग्री रहनेछ भने दिपायल, धनगढी र नेपालगञ्जमा अधिकतम तापक्रम ३२ देखि ३४
डिग्रीसम्म पुग्न सक्नेछ।
सुरक्षित स्थानबारे पूर्वतयारी गर्न र स्थानीय प्रशासनको सूचनालाई निरन्तर पछ्याउन आग्रह गरिएको छ। सुरक्षित स्थानबारे पूर्वतयारी गर्न र स्थानीय प्रशासनको सूचनालाई निरन्तर पछ्याउन आग्रह गरिएको छ।
प्रशासनले नदी किनार,
डुबान जोखिमयुक्त क्षेत्र तथा आकस्मिक बाढी
आउने खोला–खहरे आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन, अनावश्यक यात्रा नगर्न तथा खोला–खहरे नतर्न अनुरोध गरेको छ।
साथै, सुरक्षित स्थानबारे
पूर्वतयारी गर्न र स्थानीय प्रशासनको सूचनालाई निरन्तर पछ्याउन आग्रह गरिएको छ।