काठमाडौं:- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित भएर कारबाही गरिएको आरोप लगाए। उनले कानुनी राज्यमा कुनै पनि व्यक्तिमाथि कारबाही अघि तथ्य र प्रमाणको निष्पक्ष परीक्षण हुनुपर्ने बताएका छन्।
बस्नेतले उपाध्यक्ष पौडेलमाथिको कारबाहीलाई केवल एक नेताको विषयका रूपमा नहेर्न आग्रह गर्दै यसलाई लोकतान्त्रिक अधिकार र विधिको शासनसँग जोडिएको विषयका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार आज एक व्यक्तिमाथि भएको अन्याय भोलि समग्र राजनीतिक प्रणालीमाथिको आक्रमणमा परिणत हुन सक्ने खतरा रहन्छ।
पार्टी कार्यकर्ता तथा समर्थकहरूलाई प्रतिवादका लागि तयार रहन आह्वान गर्दै उनले ‘कुखुरा मर्यो भन्दा पनि श्याल पल्कियो भन्ने चेतका साथ अघि बढ्नुपर्ने’ टिप्पणी गरेका छन्।
उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निर्देशनमा सोमबार सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो। प्रहरीका अनुसार उनलाई सोमबार राति नेपालगञ्जमै राखेर मंगलबार बिहान काठमाडौं ल्याउने तयारी गरिएको छ।
विभागले पौडेलको शंकास्पद सेयर कारोबार तथा विवादित व्यवसायी दीपक भट्टसँगको सम्बन्धबारे अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउअघि अनुसन्धान टोलीले ललितपुरको भैसेपाटीस्थित पौडेल निवासमा छापा मारेर केही कागजातसमेत नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।
यस घटनापछि राजनीतिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ भने एमाले नेतृत्वले यसबारे थप धारणा सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ।