काठमाडौं: फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप आज मध्यरातिदेखि सुरु हुँदै छ। अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको यस संस्करणले विश्वकप इतिहासमा नयाँ अध्याय थपेको छ, किनभने पहिलो पटक तीन देशले मिलेर प्रतियोगिता आयोजना गर्न लागेका हुन्।
हरेक चार वर्षमा आयोजना हुने विश्वकपप्रति यसपटक झन् ठूलो चासो देखिएको छ। विश्वको कुल जनसंख्याको करिब ५८ प्रतिशतले प्रतियोगिता प्रत्यक्ष वा विभिन्न माध्यमबाट अवलोकन गर्ने अनुमान छ। आगामी एक महिनाभन्दा बढी समय विश्वको ध्यान उत्तर अमेरिकाका १८ भव्य रंगशालामा केन्द्रित रहनेछ।
यसअघि सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए। तर तीन राष्ट्रले मिलेर आयोजना गरेको यो पहिलो संस्करण हो। आगामी सन् २०३० को विश्वकप पनि पोर्चुगल, स्पेन र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्ने निश्चित भइसकेको छ।
प्रतियोगिताको उद्घाटन खेल आज मेक्सिकोको प्रतिष्ठित एस्टाडियो एज्टेका रंगशालामा घरेलु टोली मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ। ३९ दिनसम्म चल्ने प्रतियोगिताको फाइनल जुलाई १९ मा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा आयोजना गरिनेछ। फाइनलपछि विजेता टोलीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोले ट्रफी प्रदान गर्ने कार्यक्रम रहेको छ।
यस संस्करणमा फिफाले पहिलो पटक ४८ टोलीलाई सहभागी गराएको छ, जुन अघिल्लो संस्करणभन्दा १६ टोली बढी हो। केप भेर्डे, कुराकाओ, उज्बेकिस्तान र जोर्डन विश्वकपमा पहिलो पटक सहभागी हुने राष्ट्र हुन्।
टोली संख्या बढेसँगै प्रतियोगिताको आकार पनि विस्तार भएको छ। यस पटक विश्वकप इतिहासमै सबैभन्दा धेरै १०४ खेल खेलिनेछन्।
सबैभन्दा बढी ७६ खेल अमेरिकामा आयोजना हुनेछन्, जहाँ क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल समेत समावेश छन्। न्यूयोर्क, बोस्टन, मियामी, फिलाडेल्फिया, एटलान्टा, डलास, ह्युस्टन, कान्सास सिटी, लस एन्जलस, सान फ्रान्सिस्को र सियाटलसहित ११ अमेरिकी सहरले खेलको आयोजना गर्नेछन्।
मेक्सिकोका मेक्सिको सिटी, मोन्टेरे र ग्वाडालाजारामा १३ खेल हुनेछन् भने क्यानडाका टोरन्टो र भ्यानकुभरमा पनि १३ खेल आयोजना गरिनेछ।
मेक्सिकोले यसअघि सन् १९७० र १९८६ तथा अमेरिकाले सन् १९९४ मा विश्वकप आयोजना गरिसकेका छन्। क्यानडाले भने पहिलो पटक विश्व फुटबलको यो महोत्सव आयोजना गर्न लागेको हो।