काठमाडौं - सात कम्युनिस्ट घटकले नेपाली भूमि लिपुलेक–कालापानी क्षेत्रलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने गरी गएको भदौ ३ गते भारत र चीनले गरेको सहमतिविरुद्ध काठमाडौंमा प्रदर्शन गरेका छन्।
शुक्रबार माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वर चोकमा पुगेर बिरोधसभामा परिणत भएको घटक दल का नेता अरुण घिसिङले जानकारी दिए ।
सभालाई सम्बोधन गर्ने क्रममा ७ कम्युनिस्ट पार्टीका नेताहरूले नेपालको भूमिमाथि निर्णय गर्ने अधिकार भारत र चीनलाई नभएको स्पष्ट गर्दै उक्त सहमति तत्काल खारेज गर्न माग गरेको उनलेे बताए। साथै, नेपाल सरकारको समेत अप्रत्यक्ष सहमति रहेको हुन सक्ने चेतावनी दिँदै जनतालाई सचेत रहन अपिल गरेका थिए ।
प्रदर्शनका क्रममा “राष्ट्रिय स्वाधीनताको रक्षा गरौं ! विदेशी हस्तक्षेपको विरोध गरौं ! कालापानी–लिपुलेक नेपालकै हो ! नेपाल विरोधी सहमति खारेज गर ! एमसीसी फिर्ता गर !” जस्ता नारा लगाइएको थियो ।
नेकपा (क्रान्तिकारी) का नेता घिसिङले नेताहरूले नेपाली जनता शान्तिप्रेमी भए पनि त्यसलाई कमजोरीका रूपमा नबुझ्न आग्रह गर्दै, नेपाल शान्ति र क्रान्ति दुवैको भूमि भएको स्मरण गराए । उनीहरुले बुद्ध र वीरतालाई नेपाली जनताको पहिचानका रूपमा चित्रित गर्दै, नेपाली जनता कहिल्यै अन्याय-अत्याचार सहन तयार नहुने उद्घोष गरे ।