प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित

काठमाण्डाै  विपक्षी दलहरूले संसद्‍मा अवरोध कायमै राख्ने अडान नछाडेपछि प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित भएको छ ।

दिउँसो १ बजेका लागि तोकिएको बैठक सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेपछि दिउँसो सवा ३ बजेसम्मका लागि सारिएको थियो । तर विपक्षी दल विशेषगरी नेकपा (माओवादी केन्द्र) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान छाडेन ।

सहमति नजुटेपछि संसद् सचिवालयले सूचना टाँसेर भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको हो । हिजो पनि बैठक शुरू नै नभई आजसम्मका लागि स्थगित भएको थियो । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभाको चौथो बैठक अवरुद्ध भएको हो । यसअघि जेठ १३ र १४ गतेका लागि बोलाइएका बैठकमा विपक्षी दलहरूले अवरोध गरेका थिए ।

हिजाेकाे छलफलमा विपक्षीहरूले गृहमन्त्रीलाई सम्बोधन गर्न दिने तर छानबिन समिति गठनको घोषणा हुनुपर्ने माग गरेका थिए । तर सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकाले अर्को न्यायिक वा संसदीय छानबिन समिति गठन गर्न नसकिने अडान राखेपछि बैठक स्थगित भएको थियो । तर आज माओवादीले गृहमन्त्रीको राजीनामाकै माग दोहोर्‍याएको छ ।

प्रतिक्रिया