रास्वपा महाधिवेशनमा सहभागी भएपछि वडाध्यक्ष सुवेदीविरुद्ध एमालेले गर्यो कारबाही सिफारिस

bmn.news

मोरङ:- मोरङको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्र सुवेदीमाथि नेकपा (एमाले) ले कारबाही प्रक्रिया अघि बढाएको छ। एमालेबाट निर्वाचित सुवेदी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी भएको विषय सार्वजनिक भएपछि पार्टीले उनलाई पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

एमाले मोरङ जिल्ला पदाधिकारी बैठकले सुवेदीविरुद्ध कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको जनाएको छ। जिल्ला सचिव सोमराज थापाका अनुसार बैठकले दल त्यागेको आधारमा पदमुक्तिको प्रक्रिया अघि बढाउने निष्कर्ष निकालेको हो।

सुवेदी हाल बेलबारी–३ का निर्वाचित वडाध्यक्ष हुन्। उनी यसअघि एमाले मोरङको जिल्ला कमिटी सदस्यसमेत रहेका थिए। पछिल्लो समय भने पार्टी गतिविधिबाट टाढिएका उनी जिल्ला कमिटी सदस्य पदबाट राजीनामा दिएर निष्क्रिय बनेका थिए।

रास्वपाको महाधिवेशनका क्रममा सुवेदीले सामाजिक सञ्जालमार्फत पार्टीका नेता गणेश कार्कीलाई केन्द्रीय सदस्य पदमा विजयी गराउन आग्रह गर्दै सार्वजनिक समर्थनसमेत जनाएका थिए।

मोरङमा दल परिवर्तनका कारण निर्वाचित जनप्रतिनिधि पदमुक्त हुने यो पहिलो घटना भने होइन। यसअघि पनि एमालेबाट निर्वाचित दुई वडाध्यक्षले अन्य दलमा आबद्ध भएपछि पद गुमाइसकेका छन्। निर्वाचन आयोगले लेटाङ नगरपालिका–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ र रंगेली नगरपालिका–१ का वडाध्यक्ष महेशकुमार खनाललाई दल परिवर्तनको आधारमा पदमुक्त गरिसकेको छ।

प्रतिक्रिया