भेनेजुएला:-भेनेजुएलामा बुधबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १,४३० पुगेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ७.१ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पपछि आइतबारसम्म उक्त संख्यामा मृत्यु पुष्टि भएको हो।
समाचार संस्था एपीका
अनुसार बेपत्ता हुनेको संख्या पनि बढेर ६८ हजार ९०० पुगेको छ। अधिकारीहरूले अझै
विवरण संकलन भइरहेकाले यो संख्या थप बढ्न सक्ने बताएका छन्।
सबैभन्दा बढी प्रभावित ला
गुआइरा क्षेत्रका बासिन्दा आफन्त र छिमेकीसँग मिलेर भग्नावशेष हटाउँदै जीवित
व्यक्तिको खोजीमा जुटेका छन्। उनीहरूले बेल्चा, डोरी, भारी उपकरणदेखि
नाङ्गो हातसम्म प्रयोग गरेर उद्धार प्रयास जारी राखेका छन्।
अन्तर्राष्ट्रिय उद्धार टोलीहरू
प्रभावित क्षेत्रमा पुग्न थाले पनि उद्धार तथा राहतमा सरकारी तयारी र सक्रियता
कमजोर रहेको भन्दै स्थानीयवासीहरूले असन्तुष्टि जनाएका छन्। सैनिक, प्रहरी, अग्निनियन्त्रक र सैन्य क्याडेटहरू विपत्तिको आकारअनुसार
पर्याप्त रूपमा परिचालन नभएको उनीहरूको आरोप छ।
मानवीय सहायता निकायहरूका
अनुसार भूकम्पपछिको पहिलो ४८ देखि ७२ घण्टा जीवित व्यक्तिको उद्धारका लागि
सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। यद्यपि खाना र पानीको उपलब्धता भएमा यो अवधि केही
लम्बिन सक्ने उनीहरूको भनाइ छ।
भेनेजुएलाका अधिकारीहरूका
अनुसार शनिबारसम्म १७ वटा अन्तर्राष्ट्रिय उडानमार्फत १ हजार ६०० भन्दा बढी
उद्धारकर्मी प्रभावित क्षेत्रमा पुगेका छन्। कार्यवाहक राष्ट्रपति डेल्सी
रोड्रिगेजले १४ हजारभन्दा बढी सैनिक र प्रहरी परिचालन गरिएको दाबी गरेकी छन्। उनका
अनुसार प्रभावित क्षेत्रमा प्रवेश गर्न विशेष अनुमति आवश्यक पर्ने व्यवस्था गरिएको
छ।
तर स्थानीय बासिन्दाहरूले
सरकारी उपस्थिति न्यून रहेको गुनासो गरेका छन्। समुद्री तटीय सहर काराबालेदाकी
स्थानीयवासी माइलेइडी रोमेरोले एपीसँग कुरा गर्दै भग्नावशेषमा अझै जीवित मानिस रहे
पनि समयमै उद्धार हुन नसकेको र शव व्यवस्थापनसमेत प्रभावकारी रूपमा नभएको बताएकी
छन्।
धुलोले ढाकिएका
बस्तीहरूमा आफन्तको खोजी जारी छ। अत्यधिक गर्मी र शव गन्हाउन थालेपछि धेरैले मास्क
लगाएर उद्धारमा जुटेका छन् भने सुरक्षाका पर्याप्त सामग्री अभावमा कतिपय
उद्धारकर्मी र स्थानीयले मोटरसाइकलको हेल्मेट लगाएर भग्नावशेष पन्छाइरहेका छन्।