रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा, बालेन–रवि–गगन एउटै मञ्चमा

bmn.news

चितवन:- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। भरतपुरस्थित गेस्ट हाउस चउरमा दिउँसो १ बजे उद्घाटन समारोह आयोजना गरिएको छ।

महाधिवेशनका लागि पार्टी सभापति रवि लामिछानेसहित पदाधिकारी, प्रतिनिधि तथा कार्यकर्ता केही दिनअघिदेखि नै चितवनमा जुटिसकेका छन्। पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाह पनि आइतबार बिहान भरतपुर पुगेका छन्।

उद्घाटन समारोहलाई विशेष बनाउन रास्वपाले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा दिएको छ। सहभागी नेताहरूले शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहेको छ।

नेपाली कांग्रेसका सभापति गगन थापा महाधिवेशनमा सहभागी हुने निश्चित भएको छ। कांग्रेसले आइतबार मात्रै उनको सहभागिताको टुंगो लगाएको हो। थापा मध्याह्न १२स्४५ बजे भरतपुर विमानस्थल अवतरण गर्ने कार्यक्रम छ।

यता नेकपा एमालेले भने पदाधिकारी तहका नेता नपठाउने निर्णय गरेको छ। एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवाली पार्टीको प्रतिनिधित्व गर्दै महाधिवेशनमा सहभागी हुनेछन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट पनि शीर्ष नेतृत्वको सहभागिता नहुने भएको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने तयारीमा रहे पनि स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसक्ने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएका छन्। नेकपाको तर्फबाट नेता वर्षमान पुन कार्यक्रममा सहभागी हुनेछन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पनि उद्घाटन समारोहमा सहभागी हुने भएका छन्। उनी प्रधानमन्त्री बालेन शाहसँगै एउटै उडानमार्फत चितवन पुगेका छन्।

यद्यपि श्रम संस्कृति पार्टीले भने महाधिवेशनमा सहभागिता नजनाउने जनाएको छ। पार्टी अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति रास्वपाले स्पष्ट धारणा सार्वजनिक नगरेको भन्दै कार्यक्रममा नजाने निर्णय गरेका हुन्।



रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन शाह, सभापति रवि लामिछाने र कांग्रेस सभापति गगन थापा एउटै मञ्चमा देखिने भएकाले राजनीतिक वृत्तमा यसलाई विशेष चासोका साथ हेरिएको छ।

प्रतिक्रिया