महिला टी–२० राष्ट्रिय क्रिकेटमा लुम्बिनीले कर्णालीलाई हरायो

काठमणडौ  प्रधानमन्त्री महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियागितामा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७१ रनले हराएको छ । लुम्बिनीले दिएको एक सय २७ रनको लक्ष्य पछ्याएको कर्णाली १३ ओभरमा ५५ रनमा अलआउट भयो ।

कर्णालीका लागि रमा बुढाथोकीले २० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् । लुम्बिनीकी सरस्वती पुनले चार विकेट लिइन् । यस्तै मनिता राना, अस्ना चौधरी र मधु डीसीले समान एक विकेट लिए ।

त्यसअघि धनगढीको फाप्ला क्रिकेट मैदान टस जितेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा आठ विकेट गुमाएर एक सय २६ रन बनाएको थियो । लुम्बिनीका लागि रन्जु श्रेष्ठले अविजित ५१ रन बनाइन् । कर्णालीकी अन्जु गुरुङले तीन, रमा बुढाथोकीले दुई, दिक्षा पुरी र रश्मी खड्काले समान एक विकेट लिए ।

यो खेल जीते पनि लुम्बिनी तीन खेलमा तीन अङ्क मात्र बनाएर बाहिरिएको छ । समूह ‘ए’ बाट शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्रदेश र दोश्रो स्थानमा रहेको सशस्त्र प्रहरीको एपीएफ क्लब सुपर चारमा पुगेका छन् । 

प्रतिक्रिया