काठमाण्डाै । चार वटा प्रदेशका केही ठाउँमा आज बिहान छिटपुट र हल्का वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी एक/दुई ठाउँमा बिहान छिटफुटदेखि हल्का वर्षा भएको हो ।
देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले पनि देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली छ । बाँकी अरू ठाउँको मौसम मुख्यतया सफा छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली र बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ । काठमाण्डौमा पानी पर्ने सम्भावना छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । त्यस्तै कोशी प्रदेशका पहाडी क्षेत्रमा दिउँसो बादल लाग्ने र एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो ।
आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।