कमल थापा र राजेन्द्र लिङ्देन पार्टी एकीकरण वार्तामा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेको तीन वर्ष पुग्न लागेका बेला राप्रपा नेपालका अध्यक्ष कमल थापा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूसँग संवादमा जुटेका छन्।

पृथ्वीजयन्ती नजिकिएका बेला अध्यक्ष थापाले राप्रपा अध्यक्ष लिङ्देनसहित नेताहरूसँग संवाद बढाएका हुन्। बुधबार बिहान कुराकानी गर्दै अध्यक्ष थापाले आफूले राप्रपा अध्यक्ष लिङ्देनसहित नेताहरूसँग संवाद गरेको बताएका हुन्।

अध्यक्ष थापाले पछिल्लो समय राप्रपा अध्यक्ष लिङ्देन, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, विक्रम पाण्डे, उद्धव पौडेल, मोहन श्रेष्ठलगायत नेताहरूसँग पार्टी एकतालगायत विषयमा कुराकानी गरेका हुन्।

‘मैले राजेन्द्र लिङ्देनजीलगायत नेताहरूलाई भेटेर पार्टी एकता गर्न ढिलो नगरौं, अहिले परिस्थिति अनुकूल भएको छ,’ अध्यक्ष थापाले भने, ‘राष्ट्रवादी, राजावादी, हिन्दुवादी शक्तिहरू छरिएर रहँदा हाम्रो जनाधार कमजोर हुँदैछ, त्यसकारण एकताको पहल गरौं भनेर मैले कुराकानी गरेको हुँ।’

आफूले राप्रपा नेताहरूसँग पार्टी एकताबारे कुरा गर्दा जबाफ सकारात्मक आएको पनि थापाले जानकारी दिए। ‘कुराकानी सकारात्मक नै छन् तर उहाँहरूले स्पष्ट जबाफ दिनुभएको छैन,’ अध्यक्ष थापाले भने। 

प्रतिक्रिया