पुस्तकबाट एआईसम्म : मन्थली माविले बदल्दैछ शिक्षाको परम्परागत शैली, ७ दिने एआई तालिममा ५० विद्यार्थी सहभागि

bmn.news

रामेछाप:- शिक्षा अब केवल पाठ्यपुस्तकमा सीमित छैन। डिजिटल युगको मागअनुसार विद्यालयहरूले प्रविधिमैत्री शिक्षालाई आत्मसात् गर्न थालेका छन्। यही क्रममा रामेछापको मन्थली माध्यमिक विद्यालयले विद्यार्थीलाई कृत्रिम बुद्धिमत्ता ९एआई० प्रविधिसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले सातदिने एआई तालिम सफलतापूर्वक सम्पन्न गरेको छ।

शिक्षा विकास तथा समन्वय इकाई कार्यालय रामेछापको आर्थिक सहयोगमा सञ्चालित तालिममा कक्षा ८, ९ र १० मा अध्ययनरत एआईप्रति रुचि भएका ५० जना विद्यार्थी सहभागी भएका थिए। विद्यालयका अनुसार विद्यार्थीलाई भविष्यको डिजिटल संसारका लागि आवश्यक ज्ञान, सीप र प्रविधिसँग परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

तालिम उद्घाटन गर्दै विद्यालयका प्रधानाध्यापक टंक दाहालले बदलिँदो समयसँगै प्रविधिमैत्री शिक्षाको आवश्यकता झन् बढ्दै गएको उल्लेख गर्दै विद्यालयले आगामी दिनमा पनि यस्ता नवप्रवर्तनमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले परम्परागत पुस्तकमा आधारित शिक्षणसँगै प्रविधिको प्रभावकारी प्रयोगले विद्यार्थीको सिकाइलाई अझ गुणस्तरीय र व्यवहारिक बनाउने विश्वास व्यक्त गर्नुभयो।

तालिमका प्रशिक्षक तथा आईटी शिक्षक सुवास चापागाईंका अनुसार विद्यार्थीलाई एआईका आधारभूत अवधारणा, विभिन्न एआई टुलहरूको प्रयोग तथा व्यवहारिक अभ्यास गराइएको थियो। उहाँले एआईसम्बन्धी ज्ञानले विद्यार्थीमा सिर्जनशीलता, समस्या समाधान गर्ने क्षमता र भविष्यका अवसरहरू विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कार्यालय रामेछापका प्रमुख नेत्र गजुरेलले आधुनिक शिक्षा प्रणालीमा प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको उल्लेख गर्दै यस्ता तालिमले विद्यार्थीलाई सीप, प्रविधि र आयआर्जनसँग जोड्न महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा राख्नुभयो। छोटो अवधिमै विद्यार्थीले एआईसम्बन्धी नयाँ ज्ञान र सीप हासिल गरेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो।

मन्थली नगरपालिका–१ का वडा अध्यक्ष रामहरि पौडेलले विद्यालय शिक्षालाई उद्यमशीलतासँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्न विद्यार्थीलाई आग्रह गर्नुभयो।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कार्यालय रामेछापका कर्मचारी, मन्थली नगरपालिका शिक्षा शाखा प्रमुख हितकुमारी पौडेल, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रविधिमैत्री शिक्षालाई प्राथमिकतामा राख्दै सञ्चालन गरिएको यो एआई तालिमले विद्यार्थीमा नयाँ सोच, डिजिटल सीप र प्रविधिप्रतिको आत्मविश्वास बढाएको सहभागीहरूको प्रतिक्रिया रहेको छ। स्थानीय तहमा विद्यालयस्तरबाट सुरु गरिएको यस्तो पहलले ग्रामीण क्षेत्रका विद्यार्थीलाई विश्वव्यापी डिजिटल प्रतिस्पर्धाका लागि सक्षम बनाउने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया