काठमाडौं:-सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीलाई जनताले विभिन्न माध्यमबाट नजिकबाट नियालिरहेको भन्दै जनप्रतिनिधिहरूलाई आफ्नो भूमिकाप्रति थप जिम्मेवार बन्न आग्रह गर्नुभएको छ।
सङ्घीय संसद् सचिवालयले
प्रतिनिधिसभाका सांसदहरूका लागि सिंहदरबारस्थित संसद् भवन परिसरमा आयोजना गरेको
दुईदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले कानुन निर्माण
प्रक्रियालाई प्रभावकारी बनाउन सांसदहरू अध्ययनशील, प्रविधिमैत्री र संसदीय अभ्यासमा दक्ष हुनुपर्ने बताउनुभयो।
उहाँले प्रतिनिधिसभामा
धेरै नयाँ सांसद रहेकाले संसदीय विधि, प्रक्रिया र अभ्यासबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको
उल्लेख गर्नुभयो। संसदीय प्रणालीमा प्रभावकारी भूमिका निर्वाह गर्न यस्तो सिकाइ
महत्वपूर्ण हुने विश्वास उहाँले व्यक्त गर्नुभयो।
“जनताबाट निर्वाचित भएपछि
सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्छ, त्यसैले जिम्मेवारी पनि सोहीअनुसार बढ्छ,” सभामुख अर्यालले भन्नुभयो।
उहाँले विगतका सफल संसदीय
अभ्यासबाट सिक्दै जनताको अपेक्षाअनुसार काम गर्न सांसदहरूलाई सुझाव दिनुभयो।
कार्यक्रममा सङ्घीय संसद्
सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सांसदहरूलाई संसदीय प्रक्रिया, विधि र अभ्यासबारे थप जानकारी दिने उद्देश्यले
अभिमुखीकरण आयोजना गरिएको बताउनुभयो।
सचिवालयका अनुसार सोमबार
र मंगलबार सञ्चालन हुने कार्यक्रममा सांसदहरूलाई संसद् सञ्चालन प्रक्रिया, कानुन निर्माण, संसदीय भूमिका र जिम्मेवारीलगायत विषयमा जानकारी प्रदान
गरिनेछ।